arrow

प्राइम सहकारीको एक अर्ब ५७ करोड रुपैयाँ हिनामिना, तेईस सय बचतकर्ता ठगिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
prime-sahakari-pokhara.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको करिब एक अर्व ५७ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ ।

योसँगै सहकारीका दुई हजार तीन सय बचतकर्ता ठगिएको अनुमान गरिएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले गरेको छानबिनपछिको प्रतिवेदन कास्की प्रहरीमा बुझाइएको छ ।

योसँगै प्रहरीले उजुरी आह्वान गरेर प्रक्रिया अघि बढाएको छ । यस प्रकरणमा केही पक्राउ परेको भनिएपनि कास्की प्रहरीले केही बताउन चाहेन ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले प्रतिवेदन अध्ययनकै क्रममा रहेको र अहिले केही भन्न नसकिने बताए ।
सबै अध्ययन गरिसकेपछि सार्वजनिक गरेर सञ्चालकबिरुद्ध मुद्दा अद्दि बढाइने उनले जानकारी दिए ।

एक बचतकर्ताका अनुसार सहकारीमा विगतमा पनि पटकपटक समस्या हुँदै आइरहेका थिए । त्यसलाई ढाकछोप गर्दै सहकारीलाई अघि बढाइएको थियो । उनले भने, ‘यो काण्डले पनि धेरैको घरवास उठ्ने पक्का छ ।’

यता, सहकारीका सञ्चालकमध्येका एक सदस्यले बाहिर हल्ला गरिएजस्तो रकम हिनामिना नभएको दावी गरे । सहकारीमा समस्या आउन थालेपछि अनुसन्धान सुरु भएको र त्यसमा डेढ अर्व देखिएको भए पनि सञ्चालकले बद्मासी नगरेको उनले दावी गरे ।

उनले भने, ‘अधिकांश रकम जग्गामा लगानी गर्दा र समयमै उठ्दा समस्या आएका हुन्, सबै हिसाब मिलान गर्दा कोही पनि डुब्दैनन् ।’
‘समस्या कहाँ र कसरी सल्टाउने भन्ने मात्र हो । त्यही पनि अब कानूनी ढंगले अघि बढिसकेपछि हामीले के भन्ने ?’, उनले थपे ।

सहकारीमा हाल शंंकर कार्की अध्यक्ष छन् । यस्तै, उपाध्यक्षमा दीपा कोइराला, सचिवमा ओम प्रकाश उपाध्याय, कोषाध्यक्ष सञ्जिव तिमल्सेना छन् । सञ्चालक सदस्यमा सन्तोष श्रेष्ठ, अनन्त नागिला, सन्दिप अर्याल, रोशन मर्हजन, रामजी ध्वजु छन् । सहकारी रजिस्ट्रारको कार्यालयले सहकारीको रकम हिनामिनामा ५५ जनालाई दोषी देखाएको छ ।

२०६६ सालमा पंथीगल्लीबाट सेवा सुरुआत गरेको सहकारीले केही वर्षमै गैह्रापाटनमा आफ्नै भवनमा सरेको थियो ।

सहकारीले लेखनाथको तालचोक नजिकै आफ्नै भवनबाट शाखा कार्यालयकोरुपमा सेवा केन्द्र सञ्चालन गर्दै आएको थियो ।

कास्की, तनहुँ र गोरखा जिल्ला कार्यक्षेत्र रहेको सहकारीले दुई वर्ष अघि कास्कीको नयाँपुल, पोखराको बगरमा पनि सेवा केन्द्र खोलेको थियो । केही महिनादेखि नै सहकारीका सबै कारोबार बन्द भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ