arrow

राष्ट्र बैंकको एउटा कदमले बैंकहरुको झण्डै अढाई अर्ब नाफा बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
banks-nepal-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकको एउटा प्रावधानले बैंक तथा वित्तीय संस्थाहरुको नाफा झण्डै अढाइ अर्ब रुपैयाँ बढेको छ । मौद्रिक नीतिको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले असल कर्जाको विद्यमान प्रोभिजनिङ दर घटाइदिँदा बैंकको नाफामा सकारात्मक असर पार्ने देखिएको हो । त्यस्तै हायर पर्चेज कर्जाको जोखिमभार घटाउँदासमेत बैंकको नाफामा केही सुधार हुने देखिन्छ । 

शुक्रबार सार्वजनिक गरिएको समीक्षामा हाल असल कर्जामा कायम गरिएको १.२५ प्रतिशतको प्रोभिजनिङ दरलाई ०.०५ प्रतिशत विन्दुले घटाइएको छ । अहिले कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई कर्जा सापटी दिने बित्तिकै कर्जा नउठ्न सक्छ भन्ने आधारमा प्रोभिजनिङ गर्नुपर्छ । अहिले १०० रुपैयाँ कर्जाबापत १.२५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था रहेकोमा अहिले घटाएर १.२० प्रतिशतमा झारिएको हो । 

अहिले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल ५१ खर्ब २० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । त्यसमध्ये ३.९८ प्रतिशत बराबरको निष्क्रिय कर्जा रहेको छ । त्यो भनेको २ खर्ब ३ अर्ब रुपैयाँ बराबर हो । बाँकी अर्थात् ४९ खर्ब १६ अर्ब रुपैयाँ बराबर हो । 

यसको ०.०५ प्रतिशत भनेको २ अर्ब ४५ करोड रुपैयाँ बराबर हो । नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली यसरी घटेको प्रोभिजनिङ रकमले प्रत्यक्ष रुपमा नाफा बढाउने बताउँछन् । 

त्यस्तै हायर पर्चेज कर्जामा रहेको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको छ । अहिले बैंकहरुको हायर पर्चेज कर्जा १ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । कुल कर्जा सो बराबर भएका पनि बैंकरुले जोखिम भारका कारण यसको एक चौथाई अर्थात् ३३ अर्ब रुपैयाँ बराबरको बढी कर्जा गणना गर्नुपर्छ ।

 यस बापतको प्रोभिजनिङसमेत गर्नुपर्ने थियो । अब यो रकम बराबरको असल कर्जामा १.२० प्रतिशत बराबरले हुने झण्डै ४० करोड रुपैयाँ बराबरको प्रोभिजनिङ कम गर्नुपर्छ । यसले समेत प्रत्यक्ष रुपमा नाफा बढ्ने बैंकर्सको भनाइ छ । 

यी दुई वटा प्रोभिजनिङका कारण मात्रै २ अर्ब ८५ करोड रुपैयाँ नाफा बढ्ने देखिन्छ । त्यसो त हायर पर्चेज सम्बन्धी उक्त व्यवस्थाले बैंकहरुको पूँजीकोष अनुपातलाईसमेत केही खुकुलो बनाउने अवस्था देखिन्छ । अनुत्पादक देखिए पनि गाडीको कर्जामा भएको यो सहुलियतका कारण बैंकहरुको तरलता व्यवस्थापनमासमेत सहयोग पुग्ने बैंकर्स बताउँछन् । 

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा वाणिज्य बैंकहरुको नाफा ४५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यो रकमका आधारमा अहिले बढेको नाफा सामान्य मात्रै भए पनि यसले वितरणयोग्य नाफामा प्रत्यक्ष रुपमा सहयोग पुर्याउने भएकोले लाभांशमा सकारात्मक असर पार्न सक्छ । 

अहिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ । बढ्दो रेमिट्यान्स र नियन्त्रित आयातका कारण विदेशी मुद्राको सञ्चिति बढ्दै जाँदा राष्ट्र बैंकले अहिले उदार मौद्रिक नीति अबलम्बन गरेको छ ।

यो समीक्षाले आगामी साउनमा आउने मौद्रिक नीति समेत खुकुलो हुने विश्वास गरिएको छ  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ