arrow

आईपीएलको लिग चरण सकिँदै, एक क्वालिफायरको टुंगो लाग्दै, बैंगलुरूले राख्यो रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
ipl-2024-rcb-kohli-plesis.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको लिग चरणका अन्तिम खेलहरु आज हुँदैछन् । पहिलो खेल दिउँसो ३ः४५ बजे सनराइजर्स हैदराबाद र किंग्स पञ्जाबबीच हुँदैछ । यो खेलले दोस्रो स्थानको दाबेदारी कायम राख्न हैदराबादलाई जित्नैपर्ने दबाब छ । 

तर पञ्जाबलाई जित हारले खासै फरक पार्दैन । यद्यपि यो सिजनको अन्तिम खेल खेलिरहँदा पञ्जाबको प्रतिष्ठा दाउमै हुनेछ । 


यो सिजनको लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजे हुनेछ । 

यो खेलको जितहारले कोलकातालाई फरक पर्दैन किनकि शीर्ष स्थानमा रहेर कोलकाता क्वालिफायरमा पुगिसकेको छ । राजस्थानले जित हासिल गरे पनि कोलकातालाई भेट्टाउन सक्दैन । 

तर हैदराबादले जितेर राजस्थानले हार्यो भने राजस्थान क्वालिफायर्समा पुग्दैन । केबल प्लेअफमा पुग्नु फाइनल खेल्नुअघिको फाइनल खेल बन्ने गर्छ । 

आज लिग चरण सकिएपछि शीर्ष दुईमा हुने टिमले पहिलो क्वालिफायर्स खेल्छ । जित्ने टिम फाइनलमा पुग्छ भने हार्ने टिमले प्लेअफमा रहेका दुई टिमको विजेतासँग फाइनलका लागि दोस्रो क्वालिफायर्स खेल्छ । 

आजका खेलबाट दोस्रो क्वालिफायर्समा पुग्ने टिमको टुंगो लाग्नेछ । अर्को टिम प्लेअफमै सीमित हुनेछ । रोयल च्यालेन्जर्स बैंगलुरू प्लेअफमा पुगेको छ । 

बैंगलुरूले चेन्नईलाई हराएर बनायो प्लेअफमा ठाउँ 
बैंगलुरू त्यस्तो टिम हो जसले पछिल्ला पाँच खेल जितेर प्लेअफमा ठाउँ बनायो । अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई १८ रन वा १८.१ ओभरभित्रै हराएमात्र प्लेअफमा पुग्ने अवस्था रहेकामा त्यो चुनौती पूरा गर्दै २७ रनको जितसहित बैंगलुरू प्लेअफमा पुगेको हो । 

बैंगलुरूले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २१८ रन बनायो । फाफ डु प्लेसिसले ३९ बलमा ५४ रन बनाए । विराट कोहलीले २९ बलमा ४७ तथा रजत पटिदारले२३ बलमा ४१ रन बनाए । क्यामरुन ग्रीनले १७ बलमा अविजित रहँदै ३८ रन बनाए । जवाफमा चेन्नईले ७ विकेटको क्षतिमा १९१ रन बनाउन सक्यो । रचिन रविन्द्रले ३७ बलमा ६१ तथा रविन्द्र जडेजाले २२ बलमा ४२ रन बनाए । महेन्द्र सिंह धोनीले १३ बलमा २५ रन बनाए । 

यो जितपछि कोहली निकै भावुक हुँदै रोए । उनी पर्पल क्यापकर्ता हुन् । उनले यो सिजनमा सबैभन्दा बढी ७०८ रन बनाएका छन् । 

अंक तालिका
१३ खेलबाट १९ अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रहेको छ । १३ खेलबाटै १६ अंकको राजस्थान रोयल्स दोस्रो स्थानमा छ । 

१३ खेलबाट १५ अंकको सनराइजर्स हैदराबाद तेस्रो स्थानमा छ ।  १४ खेलबाट १४ अंकको रोयल च्यालेन्जर्स बैंगलुरू चौथो स्थानमा छ । 

१४ खेलबाट १४ अंकको चेन्नई सुपर किंग्स रन रेटमा पाँचौँ हुँदै प्लेअफ नखेल्दै बाहिरियो । 

त्यस्तै दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टसको पनि १४ अंक रह्यो । 

गुजरात टाइटान्सको १४ खेलबाट १२, पञ्जाब किंग्सको १३ खेलबाट १० तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले मात्र ८ अंक बटुल्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ