arrow

आईपीएलको पहिलो क्वालिफायरमा कोलकाता र हैदराबाद भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
ipl-2024-kolkatta-haidaraba.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको पहिलो क्वालिफायर खेल आज हुँदैछ । पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजेदेखि अहमदाबादमा हुँदैछ । 

लिग चरणमा शीर्ष दुईमा रहँदै कोलकाता र हैदराबादले पहिलो क्वालिफायर खेल्ने अवसर पाएका हुन् । 

कोलकाताले २० तथा हैदराबादले १७ अंक हासिल गरेको हो । १७ अंक नै भए पनि राजस्थान रोयल्समाथि रनरेटमा ०.१४१ ले अगाडि रहँदै हैदराबाद दोस्रो स्थानमा रहेको हो । 

यो सिजन कोलकाता निकै नै सफल देखिएको छ । त्यस्तै हैदराबादले सबैभन्दा बढी रन बनाउने रेकर्ड तोडेको छ । 

यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले फाइनलका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । 

दोस्रो क्वालिफायरमा पुग्ने अर्को टिमको छिनोफानो तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरूबीच इलिमिनेटर खेल बुधबार हुनेछ । 

इलिमिनेटर खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छ । 

बैंगलुरूले लिगका पछिल्ला सबै पाँच खेल जितेर प्लेअफमा ठाउँ बनाएको हो । यसले गर्दा उसको क्वालिफायरमा पुग्ने सम्भावना पनि बलियो छ । राजस्थान शुरुआती चरणमा शीर्ष स्थानमा रहँदै आएकामा पछिल्ला चरणमा हार बेहोर्दा तेस्रो स्थानमा धकेलिन पुगेको हो । 

यसपालि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो । 

त्यस्तै अर्को पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुछारमा रहेर बाहिरियो । दिल्ली क्यापिटल्स छैटौँ, लखनउ सुपर जाइन्टस सातौँ, गुजरात टाइटान्स आठौँ र पञ्जाब किंग्स नवौँ भयो । 

अंक तालिका
१४ खेलबाट २० अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, १७ अंकको सनराइजर्स हैदराबाद दोस्रो, १७ अंककै राजस्थान रोयल्स तेस्रो तथा १४ अंकको रोयल च्यालेन्जर्स बैंगलुरू चौथो स्थानमा रह्यो । 

१४ अंकमै रहेका चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टस क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे ।  

आठौँ स्थानको गुजरात टाइटान्सको १२, नवौँ स्थानको पञ्जाब किंग्सको १० तथा पुछारको मुम्बई इन्डियन्सको मात्र ८ अंक रह्यो । 

अबका खेलहरु–
इलिमिनेटर खेलमा बुधबार राजस्थान र बैंगलुरू खेल्दैछन् । खेल ७ः४५ बजे नै अहमदाबादमा हुनेछ । 

दोस्रो क्वालिफायर खेल शुक्रबार चेन्नईमा हुनेछ । पहिलो क्वालिफायरको पराजित टिम र इलिमिनेटरको विजेता टिमबीच दोस्रो क्वालिफायर हुनेछ । 

फाइनल खेल आइतबार चेन्नईमा हुनेछ । यो खेल पनि बेलुकी ७ः४५ बजे नै शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ