arrow

हैदराबाद फाइनलमा, उपाधि भिडन्त आइतबार कोलकातासँग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
ipl-2024-sh-win.jpg

काठमाडौँ । सनराइजर्स हैदराबाद भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो । 

पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएको हैदराबाद दोस्रो क्वालिफायरमा राजस्थानलाई ३६ रनले हराउँदै फाइनलमा पुगेको हो । 

राजस्थानले प्लेअफमा रोयल च्यालेन्जर्स बैंगलुरूलाई हराएर दोस्रो क्वालिफायरमा ठाउँ बनाएको थियो । 

फाइनल खेल चेन्नईको मैदानमा आइतबार बेलुकी ७ः४५ बजे शुरु हुनेछ । 

दोस्रो क्वालिफायर
चेन्नईमा भएको खेलमा पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले ९ विकेटको क्षतिमा १७५ रन बनायो । हेन्रिच क्लासेनले ३४ बलमा ५० तथा राहुल त्रिपाठीले १५ बलमा ३७ रन जोडे । त्यस्तै ट्राभिस हेडले २८ बलमा ३४ रन बनाए । राजस्थानका लागि आभेष खान र ट्रेन्ट बोल्टले ३–३ तथा सन्दीप शर्माले २ विकेट लिए । 

जवाफमा राजस्थानले ७ विकेटको क्षतिमा १३९ रनमात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ तथा यशस्वि जैसवालले २१ बलमा ४२ रन बनाए । 

शहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए । 

चहल आईपीएलको इतिहासमा सबैभन्दा बढी छक्का खाने बलर
युजभेन्द्र चहल आईपीएलको इतिहासमा सबैभन्दा बढी छक्का खाने ब्याट्सम्यान बनेका छन् ।

उनले लिगमा अहिलेसम्म ३ हजार ५२१ बल फ्याँकेकामा २२३ छक्का खाएका छन् ।

यसअघि पियुष चावलाको नाममा २२२ छक्काको कीर्तिमान थियो । 

बैंगलुरू प्लेअफमा सबेभन्दा बढी खेल हार्ने टिम
बैंगलुरू प्लेअफमा सबैभन्दा बढी खेल हार्ने टिम बनेको छ । बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग पराजित हुँदै यो सिजनबाट बाहिरिएको बैंगलुरू आईपीएलको इतिहासमै प्लेअफमा सबैभन्दा बढी खेल हार्ने टिम बनेको छ । 

अहमदाबादमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै लगातार ६ खेल जितेर प्लेअफमा पुगेको बैंगलुरू बाहिरिएको हो । 

खेलमा पहिले ब्याटिङ गरेको बैंगलुरूले ८ विकेटको क्षतिमा १७२ रन बनायो । रजत पटिदारले २२ बलमा ३४, विराट कोहलीले २४ बलमा ३३ तथा महिपाल लोम्रोरले १७ बलमा ३२ रन बनाए । 

आभेश खानले ३ तथा रविचन्द्रन आश्विनले १९ रन खर्चेर २ विकेट लिए । 

जवाफमा राजस्थानले १९ ओभरमै ६ विकेटको क्षतिमा जित हासिल गर्यो । यशस्वि जैसवालले ३० बलमा ४५ तथा रियान परागले २६ बलमा ३६ रन बनाए । 

मोहम्मद सिराजले २ विकेट लिए । बैंगलुरूले अहिलेसम्म प्लेअफमा १६ खेल खेलेकामा १० खेल हारेको छ । ३ पटक फाइनलमा पुगेको बैंगलुरूले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । 

प्लेअफमा सबैन्दा बढी २६ खेल खेलेको चेन्नईले ९ हार बेहोरेको थियो भने १७ जित हासिल गरेको छ । 

अंक तालिकाको लेखाजोखा
कोलकाताले २० तथा हैदराबादले १७ अंक हासिल गरेको हो । १७ अंक नै भए पनि राजस्थान रोयल्समाथि रनरेटमा ०.१४१ ले अगाडि रहँदै हैदराबाद दोस्रो स्थानमा रहेको हो । 

यो सिजन कोलकाता निकै नै सफल देखिएको छ । त्यस्तै हैदराबादले सबैभन्दा बढी रन बनाउने रेकर्ड तोडेको छ । 

यसपालि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो । 

त्यस्तै अर्को पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुछारमा रहेर बाहिरियो । दिल्ली क्यापिटल्स छैटौँ, लखनउ सुपर जाइन्टस सातौँ, गुजरात टाइटान्स आठौँ र पञ्जाब किंग्स नवौँ भयो । 

लिग चरणको अंक तालिका
१४ खेलबाट २० अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, १७ अंकको सनराइजर्स हैदराबाद दोस्रो, १७ अंककै राजस्थान रोयल्स तेस्रो तथा १४ अंकको रोयल च्यालेन्जर्स बैंगलुरू चौथो स्थानमा रह्यो । 

१४ अंकमै रहेका चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टस क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे ।  

आठौँ स्थानको गुजरात टाइटान्सको १२, नवौँ स्थानको पञ्जाब किंग्सको १० तथा पुछारको मुम्बई इन्डियन्सको मात्र ८ अंक रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ