arrow

खानीगाउँमा खानेपानी आयोजना निर्माण सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
Pani-tap.jpg
तस्बिर-फाइल

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-१ मा खानीगाउँमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको रु ३० लाख ५१ हजार ७१ को लागतमा निर्माण भएको आयोजनाबाट ३२ घरपरिवार लाभान्वित भएका छन् ।

नेवाका प्राविधिक गोर्खबहादुर शाहीले स्थानीय विद्यालयमा थप एक वटा सहित ३३ वटा धारा निर्माण गरिएको जानकारी दिए । यसअघि चार-पाँचवटा घरका लागि एउटा धारा बनाइएको थियो । 

वितरण प्रणाली र मुहान् व्यवस्थित नहुँदा खानेपानीको समस्या भएपछि नयाँ खानेपानी आयोजना निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र भण्डारी (राजाराम) ले बताए । 

मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरूपमा खानेपानी उपभोग गर्न पाएका उनले बताए । 

आयोजना निर्माणका लागि नेवाले रु १४ लाख ३७ हजार ३७, मङ्गला गाउँपालिकाको रु छ हजार ६९ हजार छ सय ९८ र उपभोक्ताको रु आठ लाख ३५ हजार सात सय ७९ बराबरको श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । आयोजनाका लागि थप रु एक लाख आठ हजार पाँच सय ५७ नगद सङ्कलन गरिएको थियो । 

घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ । उपभोक्ता समितिका अध्यक्ष भण्डारीले घरमै नियमित खानेपानी आउन थालेपछि समयको बचत, झन्झट र सास्ती हटेको बताए । 

नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको र्यालेखोर-भाइवाङमा खानेपानी आयोजना निर्माण सकिएको छ भने हिदीमा अर्को आयोजना निर्माणाधीन छ ।

रु ९२ लाख २४ हजार नौ सय ८७ को लागतमा निर्माण भएको र्यालेखोर खानेपानी आयोजनाबाट एक सय परिवार लाभान्वित भएका छन् । हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गर्ने योजना रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ