arrow

विश्वकपको तयारीमा रहेको नेपालको अमेरिकी टिमसँगको अभ्यासमा दोस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
nepal-cricket-24-05-25.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेको नेपाली टिमले स्थानीय टिमसँग दोस्रो अभ्यास खेल खेलेको छ । पहिलो खेलको तुलनामा दोस्रो खेलमा नेपाली टिमले सहज जित हासिल गरेको छ । 

नेपालले स्थानीय ह्युस्टन हरिकेन्ससँगको खेलमा २७ रनको जित हासिल गरेको हो । पहिलो खेलमा भने मात्र ६ रनको जित हासिल गरेको थियो । गएरातिको खेलमा मात्र १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा अलआउट हुँदै ९६ रनमा अल आउट भएपछि नेपालले सहज जित हासिल गरेको हो । 

जिआ शाहजादले सर्वाधिक ३५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र अभिनाष बोहराले समान २ विकेट लिए । कप्तान रोहित पौडेल र सागर ढकालले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १२३ रनमात्र बनाएको थियो ।

कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे ।

गत शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो । 

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । यस खेलमा सुपर ओभरको अभ्याससमेत गरिएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको हरिकेन्सले अविनाश बोहराविरुद्ध १५ रन बनाएको थियो भने नेपालले ४ बलमा जित हासिल गरेको थियो । नेपालका लागि कुशल मल्लले २ छक्का र एक चौका प्रहार गरेर सुपर ओभरमा जित दिलाएका थिए ।

यो अभ्यास खेलपछि नेपालले विश्वकपअघि क्यानाडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ । नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानाडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।

आगामी जेठ २० गतेदेखि अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा टी–२० विश्कपक आयोजना हुँदैछ । नेपाल समूह डीमा रहेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ