arrow

पोखरामा सहकारी पीडितद्वारा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
sahakari-pidit-pokhara.jpg

पोखरा । पोखरामा सहकारी पीडित बचतकर्ताले प्रदर्शन गरेका छन् । पोखरास्थित विभिन्न सात सहकारीका पीडितले प्रदर्शन गरेका हुन् । उनीहरुले पोखराको पृथ्वीचोकदेखि सिर्जनाचोकसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै नारा घन्काएका थिए । उनीहरुले सहकारी ठगी प्रकरणमा मुछिएकाले राजीनामा दिनुपर्नेमा जोड दिए । साथै उनीहरुले सहकारीमार्फत ठग्नेलाई कडा भन्दा भन्दा कडा कार्वाही गर्न माग गरे ।

पोखराका सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्दवासिनी, इमेज, बलिदानी सहकारीबाट करिब आठ अरब रकम हिनामिना भएको छ । पीडितले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गर्दै आएका छन् ।

सहकारी पीडितले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन माग गरे ।

पोखरामा सात वटा सहकारी प्रकरण छानविनमा रहेपछि दर्जनौं सहकारी बन्द भइसकेको सहकारी पीडित संघर्ष समिति संयोजक किरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखराका मात्रै ४० हजार जना पीडित बनेका छन् ।

संयोजक श्रेष्ठले समिति संयोजक किरण श्रेष्ठले सहकारीको रकम अपचलन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि पनि छानविन गर्न माग गरे । सामाजिक सञ्जालमा सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष जीवी राई (गितेन्द्रबाबु) राईसँग जोडेर प्रश्न आएको भन्दै प्रधानमन्त्रीलाई समेत छानविन हुनुपर्ने बताए ।

‘आगो नबली धुवाँ कसरी निस्किन्छ ? हावा नचली पात हल्लिँदैन होला नि ! उहाँको पनि (गृहमन्त्री रवि लामिछाने) नाम आइरहेको छ । छानबिन गर्नै नहुने हो र ?,’ उनले भने, ‘छानबिन त प्रधानमन्त्रीमाथि पनि हुनुपर्छ । सामाजिक सञ्जालमा प्रचण्डले पनि जीवी राईसँग पैसा पैसा खाएको भन्ने हल्ला आइरहेको छ ।’

गृहमन्त्रीविरुद्ध दिएको जाहेरी प्रहरीले लिए पनि लामिछानेले कतै जाहेरी नपरेको दाबी गरेको उनले आरोप लगाए । ‘जाहेरी कतै छैन भनेर हल्ला भइरहेको छ । हामीले प्रहरीलाई बुझाएकै हो । ताम्रपत्रमा लेखेर दिनुपर्ने हो र ? कि सुनौलो अक्षरमा लेखेर पठाउने हो ? कागजमै लेखेर दिएका हौं त ।’

सहकारी पीडकहरूलाई पनि फरक नजरले हेर्ने गरेको गुनासो पीडितहरूको छ । ‘एउटै मुद्दामा एक जना पक्राउ पर्ने, अर्को नपर्ने भयो । यता पनि उस्तै छ,’ उनीले थपे ।

छानबिन क्रममा राज्यका सबै निकाय दबाब र प्रभावमा परेको उनको आरोप छ । ‘सबै ठाउँमा प्रभाव परेको छ । प्रहरीमै प्रभाव परेको छ, प्रशासन, न्यायालय पनि प्रभावमा छ,’ श्रेष्ठले भने, ‘रकम डुब्नु एकातिर छ, सरकारको तर्फबाट झन् पीडित बनेका छौं । पीडितहरू दिन प्रतिदिन मरेका छन् । सरकार चुपचाप छ । धेरै दुख पायौँ ।’

पोखराका केही सहकारी समस्याग्रस्त छन् । ‘भित्रीरूपमा दर्जनौँ सहकारीले बचत फिर्ता नगरी कार्यालय बन्द गरेका छन् । पीडितहरूले ठूला सहकारीको विषयमा राज्यले लिने नीति हेरिरहेका छन्,’ श्रेष्ठले भने, ‘देवकुमार नेपाली, जीवी राई कुरिरहेका छन् । उनीहरू पक्राउ परेर बचत फिर्ता भएपछि अरू पीडितहरू खुल्छन् । हामीसँग सधैँ सम्पर्कमा हुनुहुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ