arrow

टी–२० विश्वकपको पहिलो वार्मअपमा नेपालले क्यानाडासँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
nepal-t20-always-03-13.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेको नेपाली टिमले पहिलो वार्मअप खेलमा क्यानाडासँग खेल्दैछ । अमेरिकाको डालासस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजे शुरु हुनेछ । 

नेपाल र क्यानाडाबीच अहिलेसम्म एकमात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएकामा नेपाल विजयी भएको छ । सन् २०२२ को फेब्रुअरी २१ मा भएको खेल नेपालले जितेको हो । 

आईसीसीको वरीयतामा नेपाल १७ औँ तथा क्यानाडा २३ औँ स्थानमा रहेको छ । 

विश्वकपअघि नेपालले दुई ओटामात्र वार्मअप खेल खेल्नेछ । दोस्रो खेल आगामी बिहीबार डालासमै अमेरिकासँग खेल्ने कार्यक्रम रहेको छ । 

यसअघिको अभ्यास
यसअघि स्थानीय टिमसँग दोस्रो अभ्यास खेल खेलेको छ । पहिलो खेलको तुलनामा दोस्रो खेलमा नेपाली टिमले सहज जित हासिल गरेको छ । 

नेपालले स्थानीय ह्युस्टन हरिकेन्ससँगको खेलमा २७ रनको जित हासिल गरेको हो । पहिलो खेलमा भने मात्र ६ रनको जित हासिल गरेको थियो । 

दोस्रो खेलमा मात्र १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा अलआउट हुँदै ९६ रनमा अल आउट भएपछि नेपालले सहज जित हासिल गरेको हो । 

जिआ शाहजादले सर्वाधिक ३५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र अभिनाष बोहराले समान २ विकेट लिए । कप्तान रोहित पौडेल र सागर ढकालले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १२३ रनमात्र बनाएको थियो ।

कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे ।

पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो । 

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । यस खेलमा सुपर ओभरको अभ्याससमेत गरिएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको हरिकेन्सले अविनाश बोहराविरुद्ध १५ रन बनाएको थियो भने नेपालले ४ बलमा जित हासिल गरेको थियो । नेपालका लागि कुशल मल्लले २ छक्का र एक चौका प्रहार गरेर सुपर ओभरमा जित दिलाएका थिए ।

विश्वकपमा नेपाल
आगामी जेठ २० गतेदेखि अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा टी–२० विश्वकप आयोजना हुँदैछ । 

नेपाल समूह डीमा रहेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन् ।

ग्रुप अफ डेथमा रहेको नेपालले दोस्रो चरणमा लागि भरमग्दूर प्रयास गर्नेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको हो । 

यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ