नेपालको दोस्रो वार्मअप वर्षाले रद्द, अब सिधै विश्वकपमा भिडन्त
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
440
Shares
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेको नेपाली टिमले दोस्रो वार्मअप खेल भने खेल्न पाएन । बिहीबार राति अमेरिकासँग हुनुपर्ने खेल वर्षाका कारण रोकिएको हो ।
ढिला गरी डालासमा शुरु हुने भनिएको खेल टसपछि अगाडि बढ्न सकेन । टस भने अमेरिकाले जितेको थियो ।
अमेरिकाले पहिले ब्याटिङ रोजेको भए पनि नेपालले एक बल खेल्न नपाइ रोकिएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा नेपाल १७ औं र अमेरिका १९ औँ वरीयतामा रहेको छ । हेड टु हेडमा सन् २०१३ को नोभेम्बर १३ मा भएको खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो ।
त्यहाँको मौसम प्रतिकुल रहेकाले खेल प्रभावित हुन सक्ने यसअघि नै बताइएको थियो । नेपालले विश्वकप खेल्नुअघि दुई ओटा वार्मअप खेल्ने अवसर पाएको हो । पहिलो खेलमा भने खराब नतिजा बेहोरेको थियो । अब नेपालले सिधै विश्वकप खेल्नेछ ।
विश्वकपमा नेपाल
आगामी जेठ २० गतेदेखि अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा टी–२० विश्वकप आयोजना हुँदैछ ।
नेपाल समूह डीमा रहेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन् ।
नेपालले जेठ २२ गते (जुन ४ तारिख) राति ९ः१५ बजे नेदरल्याण्ड्ससँग, जेठ ३० गते (जुन १२ तारिख) बिहान ५ः१५ बजे श्रीलंकासँग, असार १ गते (जुन १५ तारिख) बिहान ५ः१५ बजे दक्षिण अफ्रिकासँग र असार ३ (जुन १७ तारिख) बिहान ५ः१५ बजे बंगलादेशसँग खेल्ने कार्यक्रम रहेको छ ।
ग्रुप अफ डेथमा रहेको नेपालले दोस्रो चरणमा लागि भरमग्दूर प्रयास गर्नेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको हो ।
यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।
पहिलो वार्मअपमा क्यानाडाविरुद्धको खेल
टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेको नेपाली टिमले पहिलो वार्मअप खेलमा क्यानाडासँग लज्जास्पद पराजय बेहोर्यो ।
अमेरिकाको डालासस्थित क्रिकेट मैदानमा नेपाल ६३ रनले पराजित भयो । पहिले ब्याटिङ गरेको क्यानाडाले ७ विकेटको क्षतिमा १८३ रन बनायो ।
निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाएको इनिङ्समा रविन्दरपल सिंहले १७ बलमा अविजित रहँदै ४१ रन जोडे ।
नेपालका लागि अविनाश बोहराले २ तथा सोमपाल कामी, गुल्सन झा, ललित राजवंशी र सागर ढकालले समान १–१ विकेट लिए ।
जवाफमा नेपालले १९.३ ओभरमा अलआउट हुँदै १२० रनमात्र बनाउन सक्यो । कुशल मल्लले ३० बलमा ३७, अनिल साहले १६ बलमा २४, आसिफ शेखले २२ बलमा २२ तथा कुशल भुर्तेलले १६ बलमा १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोस्रो स्कोर खडा गर्न सकेनन् ।
नेपालको ब्याटिङलाई धरासायी बनाउन डिलोन हेलिगरले २० रन खर्चेर ४ विकेट लिएका थिए ।
यसअघि नेपाल र क्यानाडाबीच अहिलेसम्म एकमात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएकामा नेपाल विजयी भएको थियो । सन् २०२२ को फेब्रुअरी २१ मा भएको खेल नेपालले जितेको हो ।
आईसीसीको वरीयतामा नेपाल १७ औँ तथा क्यानाडा २३ औँ स्थानमा रहेको भए पनि नेपालले वरीयताको कदर गर्न सकेन ।
विश्वकपअघि नेपालले दुई ओटामात्र वार्मअप खेल खेल्नेछ । दोस्रो खेल आगामी बिहीबार डालासमै अमेरिकासँग खेल्ने कार्यक्रम रहेको छ ।
यसअघिको अभ्यास
यसअघि स्थानीय टिमसँग दोस्रो अभ्यास खेल खेलेको छ । पहिलो खेलको तुलनामा दोस्रो खेलमा नेपाली टिमले सहज जित हासिल गरेको छ ।
नेपालले स्थानीय ह्युस्टन हरिकेन्ससँगको खेलमा २७ रनको जित हासिल गरेको हो । पहिलो खेलमा भने मात्र ६ रनको जित हासिल गरेको थियो ।
दोस्रो खेलमा मात्र १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा अलआउट हुँदै ९६ रनमा अल आउट भएपछि नेपालले सहज जित हासिल गरेको हो ।
जिआ शाहजादले सर्वाधिक ३५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र अभिनाष बोहराले समान २ विकेट लिए । कप्तान रोहित पौडेल र सागर ढकालले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १२३ रनमात्र बनाएको थियो ।
कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे ।
पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो ।
यसअघि नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । यस खेलमा सुपर ओभरको अभ्याससमेत गरिएको थियो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको हरिकेन्सले अविनाश बोहराविरुद्ध १५ रन बनाएको थियो भने नेपालले ४ बलमा जित हासिल गरेको थियो । नेपालका लागि कुशल मल्लले २ छक्का र एक चौका प्रहार गरेर सुपर ओभरमा जित दिलाएका थिए ।