arrow

प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका पाँच व्यक्तित्वलाई सम्मान

वर्तमानमा टेकेर भविष्य निर्धारण गर्नुपर्ने बेला आयाे : पूर्वसभामुख ढुंगाना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
ganeshman-samman-sing-foundation-gandaki.jpg

पोखरा । गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेश समितिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका पाँच जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा कोमलबहादुर घले, बाग्लुङका गोविन्दप्रसाद शर्मा कंडेल, स्याङ्जाका तारापति सुवेदी, कास्कीका पुलेन्द्रमान श्रेष्ठ र तनहुँका लेखबहादुर थापा छन् । उनीहरुलाई जनही २५ हजार रुपैयाँ नगद, सम्मानपत्र र दोषल्लाद्वारा सम्मान गरिएको हो ।

उनीहरुलाई पूर्व सभामुख दमननाथ ढुंगाना, नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतले सम्मान गरेका हुन् ।

कार्यक्रममा पूर्व सभामुख ढुंगानाले वर्तमानमा टेकेर भविष्य निर्धारण गर्नुपर्ने बेला आएको बताए । उनले २००७ सालदेखिको इतिहासले मात्र कांग्रेस सवल भएर जान नसक्ने बताए । अबको लडाई साम्यवादी चरित्र भएका कम्युनिष्टसँग रहेको उनले स्पष्ट पारे ।

ढुंगानाले प्रधानीमन्त्री बन्ने, बनाउने नेता र दल भन्दा पनि देश बनाउने नेता र दलको खाँचो रहेको स्पष्ट पारे ।

उनले कम्युनिस्ट र प्रजातन्त्रवादी बिच सधैँ अन्तरविरोध हुँदा अहिलेको संकट निम्तिएको उल्लेख गर्दै नेपाली कांग्रेसले अब गम्भीरतापूर्वक देश र जनताका मुद्दा बोकेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अब नेपाली कांग्रेसले बीपी र गणेशमानको राष्ट्रिय मेलमिलापको नीति लिएर भए पनि कम्युनिष्टलाई समेटेर लैजानुपर्ने आवश्यकता छ ।’

मुलुकमा टिआरसी विधेयक टुंगो लगाउनुपर्ने अवस्थामा कम्युनिष्टहरु सरकारमा हुँदासमेत जिम्मेवार नभएकोमा उनले चिन्ता प्रकट गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संविधान सभाबाट ल्याएको संविधान राजनीतिक दलकै कारण खतरामा पर्न लागेको बताए । गण्डकीका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले संसदीय व्यवस्था र संविधानमा मात्र नभएर न्यायिक सर्वोच्चता र न्यायिक मर्यादामाथि पनि चुनौती थपिएको बताए ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले बीपी र गणेशमानको विचारबाट विचलित बन्दै गएपछि कांग्रेसमा संकट थपिएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य गुरुप्रसाद बरालले गणेशमान सिंह फाउन्डेसनले लोकतान्त्रिक आन्दोलनका सिपाहीको सम्मान गर्ने कार्यक्रम गरेर राम्रो काम गरेको बताए । उनले अबका दिनमा प्रजातन्त्रवादी नौ जवानसंँग पनि यस्तै कार्यक्रम गर्न सुझाव दिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकोले अहिलेको व्यवस्थामा देखिएका चुनौतीलाई परास्त गर्न कांग्रेसलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।

गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेल, सम्मानित व्यक्तित्व लेखबहादुर थापा, फाउन्डेसनका गण्डकी प्रदेश सदस्य मोहन गुरुङ र कुमार रानाले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ