arrow

टी–२० विश्वकपमा वेष्ट इन्डिजको विजयी शुरुआत, पीएनजीमाथि ५ विकेटको जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
t20-wc-wi-png-2024.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा आयोजक वेष्ट इन्डिजले विजयी शुरुआत गरेको छ । समूह सीमा रहेको वेष्ट इन्डिजले पपुवा न्यूगिनीमाथि ५ विकेटको जित हासिल गर्यो । 

प्रोभिडेन्समा भएको खेलमा  १३७ रनको सामान्य चुनौती वेष्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । रोस्टन चेजले २७ बलमा अविजित रहँदै ४२ तथा ब्रान्डन किङले २९ बलमा ३४ रन जोडे । 

यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ८ विकेटको क्षतिमा १३६ रन बनाउन सक्यो । सेसे बाउले ४३ बलमा ५० तथा किप्लिन डोरिगाले १८ बलमा अविजित रहँदै २७ रन जोडे । 

आन्द्रे रसेल र अल्जारी जोसेफले समान २ विकेट लिए । 

यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, अस्ट्रेलिया, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, पीएनजी, क्यानाडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी छन् ।

इङल्याण्ड टी–२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी–२० विश्वकपको यो नवौं सिजन हो ।

विश्वकपका विजेता

यसअघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २–२ पटक उपाधि जितेका छन् । इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।

त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक एक पटक टी–२० विश्वकप जितेका छन् । भारतले टी–२० विश्वकपको पहिलो संस्करण २००७ मा जितेको थियो भने अस्ट्रेलियाले २०२१ मा, श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो ।

त्यस्तै टेस्ट खेल्ने प्रमुख राष्ट्र न्यूजिल्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी–२० विश्वकप जित्न सकेका छैनन् ।

न्यूजिल्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । 

त्यस्तै आयरल्याण्ड र बंगलादेश एक एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्ड्स एक पटक सुपर १२ मा, अफगानिस्तान एक पटक सुपर १० सम्म पुगेका छन् । 

त्यस्तै जिम्बाब्वे, नामिबिया र स्कटल्याण्ड एक एक पटक सुपर १२ सम्म पुगेका छन् ।

विश्वकपमा नेपाल

त्यस्तै नेपालले भने १० वर्षपछि टी–२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो । 

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनोट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

१५ औँ खेलाडीका रुपमा सन्दीप लामिछानेलाई राखिएको दाबी गरिएको भए पनि उनलाई अमेरिकी दूतावासले भिसा नै नदिएपछि जान पाएनन् । काठमाडौँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी सावित भएका सन्दीपलाई उच्च अदालत पाटनले भने सफाइ दिएको थियो । 

सम्भवतः सर्वोच्च अदालतबाट उनले अझै सफाइ पाउन बाँकी रहेकाले अमेरिकाले भिसा नदिएको आँकलन गरिएको छ । यसअघि शुरुआती चरणमा उनीमाथि पक्राउ पुर्जी जारी भएपछि एक महिनापछिमात्र विदेशबाट फर्केका थिए । जसका कारण पनि उनको इमेज राम्रो छैन । 

टी–२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

नेपालले जेठ २२ गते (जुन ४ तारिख) राति ९:१५ बजे नेदरल्याण्ड्ससँग, जेठ ३० गते (जुन १२ तारिख) बिहान ५:१५ बजे श्रीलंकासँग, असार १ गते (जुन १५ तारिख) बिहान ५:१५ बजे दक्षिण अफ्रिकासँग र असार ३ (जुन १७ तारिख) बिहान ५:१५ बजे बंगलादेशसँग खेल्ने कार्यक्रम रहेको छ । 

ग्रुप अफ डेथमा रहेको नेपालले दोस्रो चरणमा लागि भरमग्दूर प्रयास गर्नेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको हो । 

यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । 

ग्रुप अफ डेथमा रहेको नेपालले दोस्रो चरणमा लागि भरमग्दूर प्रयास गर्नेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको हो । 

यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ