- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । टी–२० विश्वकपमा १२ वर्षपछि सुपर ओभरमा निर्णय भएको छ । नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो ।
टी–२० विश्वकपमा सन् २०१२ मा सुपर ओभर भएको थियो । सुपर ओभरमा निर्णय हुन १२ वर्ष लाग्यो । सन् २०१२ मा दुई ओटा सुपर ओभरका खेल भएका थिए ।
पहिलो खेल श्रीलंका र न्यूजिल्याण्डबीच भएको थियो । उक्त खेलमा श्रीलंका विजयी भएको थियो । दोस्रो खेल न्यूजिल्याण्ड र वेष्ट इन्डिजबीच भएको थियो । जसमा वेष्ट इन्डिज विजयी भएको थियो ।
तेस्रो सुपर ओभरमा निर्णय २०२४ को विश्वकपको तेस्रो खेलमा भएको छ । जहाँ नामिबियाले ओमानलाई हराएको छ ।
सुपर ओभर
सुपर ओभरमा पहिले ब्याटिङ गर्दै नामिबियाले कुनै विकेट नगुमाइ २१ रन बनायो । डेभिड विसीले १३ तथा कप्तान गेरार्ड इरास्मसले ८ रन बनाए । बिलाल खान महँगा सावित भए । उनले १ छक्का, ३ चौका, २ र १ रन दिए ।
जवाफमा ओमानले १ विकेट गुमाएर १० रनमात्र बनाउन सक्यो । विसीले उक्त ओभर बलिङ गरेका हुन् । विसी ३९ वर्षे पाका खेलाडी हुन् ।
यसअघिको २० ओभर
तेस्रो खेलमा नामिबिया र ओमानबीच सुपर ओभरमा खेल पुग्यो । ब्रिजटाउनमा अन्तिम ओभरमा जितका लागि ५ रन चाहिएका बेलामा नामिबियाले २ विकेट गुमाएर ४ रनमात्र जोडेपछि टाइ भएको हो । मेहरान खानले २ विकेट लिएर ४ रनमात्र दिएपछि खेल टाइमा पुगेको हो ।
११० रनको झिनो चुनौती जित्न पनि नामिबियालाई गाह्रो पर्यो । नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो । सर्वाधिक रन बनाएका जान फ्राइलिंकले ४८ बलमा ४५ रन जोडे । त्यस्तै निकोलस डाविनले ३१ बलमा २४ रन बनाए ।
मेहरान खानले ३ विकेट लिए । खानले ३ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर ३ विकेट लिए ।
यसअघि खेलमा टस जितेर उत्कृष्ठ फिल्डिङ गरेको नामिबियाले ओमानलाई १९ ओभर ४ बलमा रोक्दै १०९ रनमा अलआउट गर्यो । शुरुआती दुई बलमा दुई विकेट गुमाएको ओमानका लागि खालिद काइलले ३९ तथा जीशन मसूदले २२ रन जोडे ।
रुबेन ट्रुमपेल्मानले ४ तथा डेभिड विसीले ३ विकेट लिए ।
यो समूह बीको खेल हो । यो समूहमा अष्ट्रेलिया, इङ्गल्याण्ड र स्कटल्याण्ड पनि छन् ।
सोमबार राति समूह डीको खेलमा श्रीलंका र दक्षिण अफ्रिका खेल्नेछन् । खेल ८ बजेर १५ मिनेटमा न्यूयोर्कमा हुनेछ ।
यसअघिका खेल
–पहिलो खेलमा आयोजक अमेरिकाले क्यानाडालाई ७ विकेटले हरायो ।
–दोस्रो खेलमा आयोजक वेष्ट इन्डिजले पपुवा न्यूगिनीमाथि ५ विकेटको जित हासिल गर्यो ।
यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, अस्ट्रेलिया, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, पीएनजी, क्यानाडा, स्कटल्याण्ड, ओमान र युगाण्डा गरी २० टिम सहभागी छन् ।
इङल्याण्ड टी–२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी–२० विश्वकपको यो नवौं सिजन हो ।
विश्वकपका विजेता
यसअघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २–२ पटक उपाधि जितेका छन् । इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।
त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक एक पटक टी–२० विश्वकप जितेका छन् । भारतले टी–२० विश्वकपको पहिलो संस्करण २००७ मा जितेको थियो भने अस्ट्रेलियाले २०२१ मा, श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो ।
त्यस्तै टेस्ट खेल्ने प्रमुख राष्ट्र न्यूजिल्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी–२० विश्वकप जित्न सकेका छैनन् ।
न्यूजिल्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो ।
त्यस्तै आयरल्याण्ड र बंगलादेश एक एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्ड्स एक पटक सुपर १२ मा, अफगानिस्तान एक पटक सुपर १० सम्म पुगेका छन् ।
त्यस्तै जिम्बाब्वे, नामिबिया र स्कटल्याण्ड एक एक पटक सुपर १२ सम्म पुगेका छन् ।
विश्वकपमा नेपाल
त्यस्तै नेपालले भने १० वर्षपछि टी–२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनोट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
१५ औँ खेलाडीका रुपमा सन्दीप लामिछानेलाई राखिएको दाबी गरिएको भए पनि उनलाई अमेरिकी दूतावासले भिसा नै नदिएपछि जान पाएनन् । काठमाडौँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी सावित भएका सन्दीपलाई उच्च अदालत पाटनले भने सफाइ दिएको थियो ।
सम्भवतः सर्वोच्च अदालतबाट उनले अझै सफाइ पाउन बाँकी रहेकाले अमेरिकाले भिसा नदिएको आँकलन गरिएको छ । यसअघि शुरुआती चरणमा उनीमाथि पक्राउ पुर्जी जारी भएपछि एक महिनापछिमात्र विदेशबाट फर्केका थिए । जसका कारण पनि उनको इमेज राम्रो छैन ।
टी–२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।
नेपालले जेठ २२ गते (जुन ४ तारिख) राति ९:१५ बजे नेदरल्याण्ड्ससँग, जेठ ३० गते (जुन १२ तारिख) बिहान ५:१५ बजे श्रीलंकासँग, असार १ गते (जुन १५ तारिख) बिहान ५:१५ बजे दक्षिण अफ्रिकासँग र असार ३ (जुन १७ तारिख) बिहान ५:१५ बजे बंगलादेशसँग खेल्ने कार्यक्रम रहेको छ ।
ग्रुप अफ डेथमा रहेको नेपालले दोस्रो चरणमा लागि भरमग्दूर प्रयास गर्नेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको हो ।
यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।
ग्रुप अफ डेथमा रहेको नेपालले दोस्रो चरणमा लागि भरमग्दूर प्रयास गर्नेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको हो ।
यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।