arrow

ओलीका अगाडि प्रचण्डसँग यसरी झोँक्किए देउवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
prachanda-deuba-oli-81-2-5.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम पास भैसकेको र बजेटमाथिको छलफलसमेत चलिरहेको अवस्थामा प्रमुख राजनीतिक दलका नेताहरुबीच परामर्श भएको भएको छ । 

सोमबार बिहान मात्रै प्रमुख दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको हो ।  

सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबीच एकै पटक भेटवार्ता र छलफल भएको हो । 

तीन नेताबीच बजेट र छानबिन समितिको काम कारवाहीबारे छलफल भएको भएको बताइए पनि प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई कसरी टुंग्याउन सकिन्छ भनेर दुई शीर्ष नेताहरुसँग छलफल गरेको बुझिएको छ ।

‘एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग प्रधानमन्त्रीले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल गर्नु भएको हो, यो विषयमा अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएकाले तीन नेताहरुबीच छलफल भएको हो’, प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलको मुख्य विषय बनाइएको भए पनि प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको सवाललाई पनि छलफलमा ल्याएका थिए । 

त्यसपछि बजेटका बारेमा छलफल गर्न होला भनेर छलफलमा पुगेका देउवा एकाएक प्रचण्डसँग पड्किएका थिए । 

उनी ‘मलाई असम्बन्धित कुरामा बोलाउने ? तपाईहरु मिल्नुस् न मलाई किन मुछ्नुहुन्छ ? यसको लिड ओलीले गर्नुहुन्छ’ भनेर प्रचण्डसँग झोँक्किएका थिए । 

देउवाले आफूलाई बजेटका विषयमा छलफल गर्न बोलाइएको होला भन्दै गएको तर संक्रमणकालीन मुद्दाका विषयमा विवादमा तान्न खोजिएकोसमेत कांग्रेस नेताहरुसँग बताएका छन् ।  

संक्रमणकालीन न्यायलाई नै निष्कर्षमा पुर्याउने बहाना रचेर प्रचण्डले कांग्रेससँगको सत्तागठबन्धन तोडेर एमालेसँग जोडिएको प्रतिक्रिया दिएका थिए । त्यही सन्दर्भ सम्झेर देउवाले प्रचण्डलाई कडा जवाफ दिएका हुन् ।

त्यस बाहेक सर्वोच्च अदालतलले रवि लामिछानेको सहकारी ठगीबारे कास्की प्रहरीमा परेको उजुरीको मागेको विषय र अन्य केही ससामयीक विषयहरुबारे पनि छलफल भएको स्रोतको दाबी छ । 

सोमबार बिहान नै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि प्रधानमन्त्रीले छलफल गरेका छन् । संसदमा प्रस्तुत बजेटको विषयमा नेता नेपालले असहमति प्रकट गरेका थिए । 

‘बजेटबारे उहाँका केही सान्दर्भिक विषयहरु रहेछन् त्यसलाई सम्बोधन गर्नुपर्ने देखियो’, प्रधानमन्त्री र माधव नेपालबीचको भनाई उधृत गर्दै स्रोतले भन्यो । 

माधव नेपालसँगको भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको थियो । 

सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार हुन सकेको छैन । त्यसैगरी मधेसमा एमाले र माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन् । 

तर एकीकृत समाजवादीले मधेसमा पुरानो समीकरण अनुसार बनेको जसपा नेपाल नेतृत्वको सरकार छाड्न नसकेको अवस्थामा प्रधानमन्त्रीले नेपाललाई बोलाएर छलफल गरेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ