नेपालको विश्वकप खेल काठमाडौँका तीन ठाउँमा निःशुल्क, रंगशालामा सांगीतिक प्रस्तुतिसमेत
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
632
Shares
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । समूह डी को खेलमा नेपालले नेदरल्याण्ड्सँग खेल्न लागेको हो । खेल राति ९ः१५ बजेदेखि अमेरिकाको डालासमा हुँदैछ ।
यो खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । महानगरले नेपालका खेल तीन ठाउँमा लाइभ देखाउन लागेको हो ।
आज रातिको यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रिन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।
यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ ।
टुँडिखेलमा खेलको प्रदर्शन शुरु हुनुअगाडि ईन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ ।