arrow

शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुङ्ग्याउनुपर्छ- सिटौला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
sitoula-01-22.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताएका हुन् । उनले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझै पनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिनका लागि अरू ढिलो गर्नु नहुने बताए । 

उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताए । उनले यस विषयलाई टुङ्ग्याउन नसकेमा दलहरू बीचको विश्वास सङ्कटग्रस्त बन्दै जाने बताए । उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरू पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताए ।

उनले भने – ‘सशस्त्र द्वन्द्व दुई वटा मूल पाटो, एउटा राज्य छ । जसको सुरक्षा निकायको हातमा बन्दुक छ । त्यसका लागि तयार छ । अर्को विद्रोही माओवादी छ, उसको लडाकुको हातमा पनि बन्दुक छ । भिडन्त भयो त्यहाँ । तर दुई वटा बन्दुकको बीचमा परेका जो मानिसहरू छन्, चाहे माओवादीका लडाकुले सुराकीको शंकामा पक्रेर लगेका मान्छेको घटना होस् । चाहे सेनाले यसले माओवादीलाई सहयोग गर्‍यो है भनेर गाउँबाट पक्रेर लिएर गएको मान्छे होस् । यी विषयमा हामीले समयमै न्याय दिन सकेनौँ भने । विस्तृत शान्ति सम्झौताको एउटा मूल राजनीतिक पक्ष संविधानसभाबाट संविधान निर्माण गर्ने, अर्को द्वन्द्वपीडितहरूलाई न्याय दिने नै हो । पहिलो पाटो त हामीले पुरा गर्‍यौँ संविधान जारी भयो । तर अर्को पाटो हामीले पूरा गर्न सकेनौँ भने, सरकारले यसलाई प्राथमिकतामा राख्नुभएन भने, समयमै पुरा गर्न सकेनौँ भने क्रोनिक हुँदै जाने भयो । सिंगो नेपालका राजनीतिक दलहरू विवादको घेराबाट मुक्त हुन नसक्ने भयौँ । राष्ट्रिय घेराबाट, अन्तर्राष्ट्रिय घेराबाट । यथार्थ हो । त्यसकारण सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु, यो विषयलाई मूल प्राथमिकताको आधारमा सरकारले यसलाई टुङ्ग्याउनका लागि प्रयास गरोस् । यसमा प्रतिपक्षमा रहेका जति पनि हामीहरू छौँ, रचनात्मक सहयोग गर्न चाहन्छौँ । गहिराइमा पुगेर, फेरि पनि नबल्झिने गरी यसलाई टुङ्ग्याउनुपर्छ । यसले मूल प्राथमिकता पाएन भने राजनीतिक दलहरू बिचको विश्वास सङ्कटग्रस्त बन्दै जान्छ । जसको सरकार बने पनि दलहरू बिचको विश्वास बन्दैन । अविलम्ब यसलाई टुङ्ग्याउनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ