arrow

टी–२० विश्वकप

नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
t20-wc-rohit-poudel-2024.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको पहिलो खेल जितका लागि नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको झिनो चुनौती दिएको छ । 

अमेरिकाको डालास मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि टी–२० विश्वकपको इतिहासकै सबैभन्दा कान्छा २१ वर्षीय कप्तान रोहित पौडेलले ३७ बलमा ३५ रन बनाएर आउट भए । ५ चौका प्रहार गर्दै सम्हालिएर खेल्दै आएका रोहित गलत प्रहारका कारण पभेलियन फर्किनुपर्यो । उनले व्यक्तिगत २ रन बनाउँदा अम्पायरले आउट दिएको भए पनि रिभ्यु लिएर बचेका थिए ।

करण केसीले १२ बलमा २ छक्काको मद्धतले १७, गुल्सन झाले १५ बलमा १ छक्काको मद्धतले १४ रन बनाए । 

त्यस्तै अनिल साह १२ बलमा ११, कुशल मल्ल ९ बलमा ९ कुशल भुर्तेल १० बलमा ७ तथा आसिफ शेख ८ बलमा ४ रन बनाएर आउट भए । त्यस्तै दिपेन्द्र सिंह ऐरी ६ बलमा १ रन बनाएर आउट भए । 

सन् २०१४ को विश्वकप खेलेका एकमात्र खेलाडी रहेको यो टिमका अनुभवी खेलाडी सोमपाल कामी भने ६ बलमा रनको खाता नै नखोली आउट भए । सागर ढकाल पहिलो बलमै डकआउट भए । 

नेदरल्याण्ड्सका लागि टिम प्रिंगल र लोगान भान बीकले समान ३–३ तथा पल भान मिकेरेनले र बास डे लिडे २–२ विकेट लिए । 

मैदानमा १५ हजार अमेरिकामा रहेका नेपालीले नेपालको खेल हेरेका थिए । 

समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भइरहेका हुन् । 

अहिलेसम्म आपसमा भएका टी–२० मा नेदरल्याण्ड्सले ६ तथा नेपालले ५ खेल जितेको छ । 

खेल निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यद्यपि डालासमा नेपालले यसअघिदेखि नै अभ्यास गरेको र त्यहाँका स्थानीय टिमसँग अभ्यास पनि गरेकाले नेपालले जितसहित प्रतियोगितामा सुखद शुरुआत गर्ने अपेक्षा गरिएको छ । 

यो समूहमा नेपाल र नेदरल्याण्ड्ससहित दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । 

यता समूह बीको इङ्गल्याण्ड र स्कटल्याण्डको खेल पनि खराब मौसमले अवरोध गरेको छ । 

स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ