arrow

केपीको अस्वभाविक एवं गम्भीर टिप्पणीले एमाले र रास्वपा टाढिने संकेत  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
kp-oli-ravi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पक्षमा वकालत गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध  सिंगो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खनिएको छ । शिक्षामन्त्रीसमेत रहेकी सांसद सुमना श्रेष्ठको अपमान गर्ने गरी ओलीले दिएको अभिव्यक्तिप्रति रास्वपाले आपत्ति जनाएको हो । 

रास्वपा सभापतिसमेत रहेका रवि लामिछानेले बुधबार बिहान ओलीको नाम नलिइ शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीर रुपमा आपत्ति जनाएको बताएका थिए । 

लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्नेकुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरुले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गरे । कोसँग माया गर्ने, कोसँग विवाह गर्ने ? भन्नेकुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरुले केही पनि गर्न नसक्ने उनको तर्क थियो ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन ओलीले रविको नाम नराख्नका लागि सिंगो एमालेको पंक्तिलाई कांग्रेसविरुद्ध परिचालन गरेका थिए । त्यही क्रममा ओलीले झापामा आयोजित एक कार्यक्रममा कथा बनाएर सुमनाको नाम नलिई माइती देश घुम्न आएकी चेली मन्त्री भइन् भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले एमाले अध्यक्ष ओलीको टिप्पणीप्रति आपत्ति जनाए । संविधानले दिएको अधिकार प्रयोग गरेर देशको नेतृत्व गर्न नपाइने हो ? भन्दै उनले ओलीलाई प्रश्न पनि गरेका छन ।  

‘विदेशमा उच्च शिक्षा हासिल गरेकी एक महिला नेतृ दश वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन् । नाकाबन्दीका बेला सडकमा हिँडिरहेका मान्छेलाई यात्राको सुविधा प्रवाह गरिन्’, खनालले प्रतिनिधि सभाको शून्य समयमा भने, ‘उद्यममार्फत रोजगारी सिर्जना गरिन् । पछि राजनीतिमा आइन् । आज मन्त्री भइन । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनेको छ भनिन्छ, कहिले लुगामा टिप्पणी, कहिले समानुपातिक सांसद भनेर होच्याउने गरिन्छ । कहिले यही सभा हलभित्र कहिले बन्द कोठाभित्र ।’ 

रास्वपाले एमाले अध्यक्षप्रति लक्षित अभिव्यक्ति दिन थालेपछि सम्बन्धमा दरार उत्पन्न भएको हो कि भन्ने आशंकालाई बल पुगेको छ ।

केही दिन पहिले एमाले अध्यक्ष ओलीले विदेशमा पढ्न गएको र उतै विदेशीसँग विवाह गरी नेपालमा घुम्न आएका बेला मन्त्री बनेको भन्दै सुमना श्रेष्ठमाथि अपमानजनक टिप्पणी गरेका थिए । उक्त विषयमा सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत आलोचना भइरहेको छ ।

उता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ओलीको भनाइप्रति खेद व्यक्त गरेकी छिन् । देश कुनै अमुक नेताहरूको कैदमा रहेको र उनीहरूको मर्जीबिना पात पनि हल्लिँदैन भन्ने धारणा फेरिनु आवश्यक रहेको उनको भनाइ छ ।

ओलीले सुमनालक्षित ‘माइत घुम्न आएको फ्याट्ट मन्त्री भइयो’ भन्ने अभिव्यक्ति दिएपछि उनलाई स्त्रीद्वषी भएको आरोप लागिरहेको छ । ओलीको सोही अभिव्यक्तिलाई जवाफ दिने गरी मंगलबार सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेखेकी छिन्, ‘के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ ? अहिलेसम्म पुस्तौँदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?’ 

विदेश पढेर आउने जनशक्ति, नेतृत्वलाई ‘ब्रेन गेन’ को अवधारणासँग जोड्दै उनले राजनीतिमा जमेर बसेकाहरूलाई विदेश गएको जनशक्ति नेपाल फर्किँदा पैसाबाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने अभिप्राय राखेको आरोप लगाएकी छिन् । 

महिलाको हकमा यो अवस्था झनै विकराल रहेको उनको भनाइ छ । ‘म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ’, मन्त्री श्रेष्ठले लेखेकी छिन् ।

रास्वपाले पनि संस्थागत रुपमै विरोध जनाइसकेको छ । एउटा कथा भन्दै ओलीले भनेका छन्, ‘एउटी चेली कुन देशमा कता गएर पढिन्, कुन देशमा गएर बिहे गरिन्, के भयो, अनि ती आफ्नो माइती देशमा एक पल्ट गइन् अरे, माइती देशमा गएको त्यहाँ त असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा कस्तो–कस्तो, कसरी अघि बढ्ने भन्ने नभएको अन्योलको त्यस्तो स्थितिमा सांसदमा को उठ्छ भन्दा, म उठ्छु, कसलाई समानुपातिक चाहिया छ भन्दा, मलाई भन्दै सांसद भइन् अरे । मन्त्री भइन् अरे । कहिले कहिले हुन्छ त्यस्तो, कहिले कहिले आकाशबाट माछा बर्सिन्छ । पानी परेका बेला माछा खस्छ, माछा ।’
 
एमाले अध्यक्ष ओलीको यस्तो अभिव्यक्तिपछि रास्वपाभित्र आन्तरिक छलफलसमेत भएको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ