arrow

संसद विघटन गरेका ओलीको यस्तो स्पष्टीकरण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
kp-oli-02-26.jpg

काठमाडौँ । संसद विघटन गरेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण दिएका छन् । ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले संसद विघटन गर्नुपरेको बताएका छन् । अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति रहेको समेत बताए । उनले पार्टी भित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधि सभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरे । 

दक्षिणपन्थी शक्तिहरूको पाउमा सरकार बुझाए जसरी नै आज एमाले पनि अरूलाई बुझाइसकेको अवस्थामा हुने ओलीको भनाई थियो । उनले आफूले तत्कालीन परिस्थितिमा पार्टीलाई बचाउन प्रतिनिधि सभा विघटन गरेको भए पनि कतिपय पार्टी भित्रकै मान्छेले कुरा नबुझेको गुनासो पनि गरे । अध्यक्ष ओलीले हरेक क्षेत्रमा आफूले सरकारको नेतृत्व लिएर राम्रो काम गरे पनि तत्कालीन सरकारलाई पार्टी भित्रैबाट दक्षिणपन्थीहरूको पाउमा बुझाउने काम गरेको जिकिर पनि गरे ।

उनले भने, ‘कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दा खेरी म छक्क पर्छु । पुस ५ गते अरू सबै ठिकै थियो । पुस छ गते संसद चाहिँ भङ्ग नगरेको भए हुन्थ्यो । संसद भङ्ग किन गर्नुपर्‍यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौँ । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पुर्‍याएका थियौँ । झन्डै दुई तिहाइको स्थिति हामीले बनाएका थियौ । पार्टी भित्रैबाट बाहिरी शक्तिहरूले हामीलाई केही गर्न सक्ने वाला थिएन । पार्टी भित्रैबाट हुँडलो मच्चाएर बुरुकबुरुक उफ्रिएको छ । बैठक बैठक जस्तो हुँदैन । चलाई सक्नु छैन । विकास, निर्माणको काम भएको छ । अरू काम भएको छ । पुनर्निर्माणको काम भएको छ । सबै कामहरू भएको छ । तर देख्दैन । भुईँचालोले भत्काएका साँढे ८ लाख घर बनाएको छ । पुनर्निर्माणका अनेक कामहरू भएका छन् । देख्दैन । अनेक नयाँ राजमार्ग बनेका छन् । देख्दैन । हजारौँ पुल बनेका छन्, देख्दैन । तुईन विस्थापन भएको छ, देख्दैन । हवाई मैदानहरू बनेका छन्, देख्दैन । राति पनि उड्ने गरी सुविधा बिस्तार भएको छ । त्यो पनि देख्दैन । फोरजी सेवा देशभर बिस्तार भएको छ, त्यो पनि देख्दैन । हरेक क्षेत्रका विकासको गति आएको छ, त्यो पनि देख्दैन । सडक मानवरहित सडक बनाएको छ । बालबालिकालाई खातेबाट अभिभावकत्व दिएको छ । त्यो देख्दैन । ज्येष्ठ नागरिकहरूको भत्ता बढाएको छ, त्यो देख्दैन । आज पनि उफ्रिएको छ, भोली पनि उफ्रिएको छ । कसरी सरकार ढाल्ने भनेको छ । अनि दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि फेरी कुरा ठुलो गर्‍या छ । त्यति बेला प्रतिनिधि सभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउदैन थियौँ हामीले । यो अन्तै लगेर बुझाई सकेको हुन्थ्यो । दक्षिणपन्थी शक्तिहरूको पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो । अनि तपाईँहरूले देख्नु भएन ? नवौँ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होइन, मजबुत हैसियतमा पुर्‍याएको छ । सबभन्दा ठुलो पार्टी बनाएको छ । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुई तिहाइको मजबुत शक्ति बनाएको छ । उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नु भएन ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ