arrow

बैशाख महिनामा भित्रियो ११६ अर्ब रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति १७ खर्ब नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
nepal-rastra-bank-nrb-flag.jpg

काठमाडौँ । बैशाख महिनामा मात्रै नेपालमा १ खर्ब १६ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैशाख महिनामा औपचारिक माध्यमबाट नेपालमा सो बराबरको रेमिट्यान्स आप्रवाह भएको हो ।

चालु आर्थिक वर्षको चैत महिनाको अन्त्यसम्म नेपालमा रेमिट्यान्स आप्रवाह १० खर्ब ८२ अर्ब रुपैयाँ बराबर रहेको थियो । बैशाख महिनाको अन्तिमसम्म आइपुग्दा यो आप्रवाह बढेर ११ खर्ब ९८ अर्ब पुगेको हो । रेमिट्यान्सको यो वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । 

यो अवधिमा नेपालमा आउने कुल विदेशी मुद्रा र नेपालबाट बाहिरिने विदेशी मुद्राको अन्तर ३ खर्ब ९२ अर्ब रुपैयाँ सकारात्मक रहेको देखिन्छ । यो अवधिमा चालु खाता समेत १ अर्ब ९३ करोडले बचतमा रहेको देखिन्छ । 

अघिल्लो वर्षको बैशाख अन्तिमसम्म शोधनान्तर अवस्था २ खर्ब ९ अर्ब रुपैयाँले बचत भए पनि चालु खाता ६३ अर्ब ६४ करोड रुपैयाँले नोक्सानमा रहेको थियो । 

यो अवधिमा देशको मुद्रास्फीति दर ४.४ प्रतिशत कायम भएको छ । सरकारले चालु आर्थिक वर्षमा यस्तो दरलाई ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो । यो अवधिमा विस्तृत मुद्राप्रदाय ७.८ प्रतिशत अघिल्लो वैशाखको तुलनामा १२.४ प्रतिशतले बढेको देखिएको छ । 

अहिले नेपालसँग १७ खर्ब २२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ । यो सञ्चितिले अहिले हुँदै आएको आयातमध्ये १५.१ महिनाको बस्तु तथा १२.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिन्छ । 

सरकारले कम्तीमा ६ महिनाको बस्तु तथा सेवा आयात गर्ने सञ्चिति गर्ने लक्ष्य लिएकोमा यो लक्ष्य दोब्बरभन्दा बढी पुगेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ