arrow

दश महिनामा डिजिटल कारोबार ५४ खर्बः क्यूआर भुक्तानी दोब्बर, इन्टरनेट बैंकिङमा निराशा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
digital-payment-always.jpg

काठमाडौँ । १० महिनामा डिजिटल कारोबारको ५४ खर्ब नजिक पुगेको छ । नेपालमा सञ्चालित डिजिटल भुक्तानीसँग सम्बन्धित सम्पूर्ण सेवाहरुमा चालु आर्थिक वर्षको दश महिनामा ५३ खर्ब ६६ अर्ब बराबरको डिजिटल भुक्तानी कारोबार भएको हो ।

अघिल्लो वर्ष बैशाखसम्म ३८ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यो वर्ष यस्तो कारोबार झण्डै ४० प्रतिशतले बढेको छ । 

अहिले डिजिटल भुक्तानी सेवा अन्तर्गत आरटीजीएस, कनेक्ट आईपीएस, ईसीसी, मोबाइल बैंकिङ, आईपीएस, डेबिट कार्ड, बालेट भुक्तानी, पोइन्ट अफ सेल, क्रेडिट कार्ड र प्रिपेड कार्ड छन् । 

यी माध्यममध्ये सबैभन्दा बढी भुक्तानी हुने आरटीजीएस अन्तर्गत मात्रै ३५ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले २० लाखभन्दा माथिको कारोबारलाई अनिवार्य रुपमा आरटीजीएस प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरेकोले आरटीजीएसबाट यति ठूलो मात्रामा कारोबार भएको हो ।

त्यस्तै कनेक्ट आईपीएसबाट ५ खर्ब २२ अर्ब, ईसीसीबाट ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । मोबाइल बैंकिङबाट ३ खर्ब २० अर्ब, आईपीएसबाट २ खर्ब ३८ अर्ब तथा डेबिट कार्डमार्फत ९७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

यो अवधिमा इन्टरनेट बैंकिङबाट १२ अर्ब ७७ करोड, प्वाइन्ट अफ सेलबाट ५ अर्ब ५२ करोड, क्रेडिट कार्डमार्फत् १८ अर्ब ९९ करोड र प्रिपेड कार्डमार्फत हुने भुक्तानी ६५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा क्यूआरमा आधारित भुक्तानी ५२ अर्ब रुपैयाँ बराबर कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । 

तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा धेरै कारोबार वृद्धि क्यूआरमा आधारित भुक्तानीको भएको छ । यस्तो वृद्धिदर १०२ प्रतिशत रहेको छ । त्यस्तै प्रिपेड कार्डमा आधारित भुक्तानी ६७ प्रतिशतले बढेको छ । मोबाइल बैंकिङ ५२ प्रतिशत, वालेट र आरटीजीएस ४७–४७ प्रतिशत, कनेक्ट आईपीएस ४५ प्रतिशत, इकमर्श ४४ प्रतिशत र आईपीएस कारोबार ३७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । 

यो अवधिमा इन्टरनेट बैंकिङको कारोबार वृद्धिदर ५ प्रतिशतले नकारात्मक छ । ईसीसीको कारोबार वृद्धि सकारात्मक देखिए पनि ५ प्रतिशत हाराहारी मात्रै छ । एटीएमबाट झिकिने नगद ११ प्रतिशतले वृद्धि भएको छ । डिबिट कार्ड र प्वाइन्ट अफ सेलको वृद्धिदर लगभग सोही बराबरले बढेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ