arrow

राष्ट्रिय परिचय पत्रमा लाइसेन्सको विवरणसमेत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
National-Identity-Card-of-Nepal_.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सवारी चालक अनुपमतिपत्र (लाइसेन्स) को सट्टा अब राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ । लाइसेन्सको विवरणसमेत राष्ट्रिय परिचय पत्रबाट हेर्न मिल्नेगरी प्रणाली एकीकरण गरिएसँगै अब यस्तो व्यवस्था शुरु हुन लागेको हो । 

बुधबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेल र यातायात व्यवस्था विभागका महानिर्देशक उद्दव रिजालले दुई प्रणालीलाई एकीकृत गरे । मन्त्रिपरिषद्को निर्णय बमोजिम दुई प्रणालीबीच अन्तरआवद्धता गरिएको राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक कट्टेलको भनाइ छ । 

उक्त आवद्धतासँगै अबदेखि जारी वा नवीकरण हुने सबै लाइसेन्सहरुको विवरण सम्बन्धित व्यक्तिको राष्ट्रिय परिचयपत्रमा स्वतः जोडिनेछ । एकीकरण गरिनुभन्दा अघिका विवरणलाई समेत सिस्टटमा अद्यावधिक गर्ने कार्य थालिएको छ । यसरी अद्यावधिक गर्ने कार्यको लागि केही समय लाग्ने भएकोले यो व्यवस्था साउन १ गतेदेखि लागू गर्ने विभागको तयारी छ । 

अहिले ट्रायल दिएर वा नवीकरण गरेर प्रतीक्षाको सूचीमा भएकाहरुको विवरणलाई सबैभन्दा पहिले अद्यावधिक गरिनेछ । त्यसपछि लाइसेन्स छपाइ भइसकेको, प्राप्त गरिसकेका वा लाइसेन्सको अवधि सकिएर नवीकरण नभएकाहरुको विवरण अद्यावधिक हुनेछ । 

यसरी विवरण अद्यावधिक भइसकेपछि ट्राफिकले राष्ट्रिय परिचयपत्रको क्यूआर कोड स्क्यान गरी लाइसेन्स नम्बर तथा डिजिटल लाइसेन्स हेर्न सक्नेछन् । सोही आधारमा अनुमतिपत्रको भेरिफिकेसन तथा कारबाही हुनेछ । 

अहिले जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्र थुप्रिएर बसेको छ । पासपोर्ट बनाउन परिचयपत्र अनिवार्य गरिएको तथा गाउँ गाउँमा अभियान चलाइएका कारण राष्ट्रिय परिचयपत्रको विवरण भर्नेको संख्या उल्लेख्य भए पनि त्यसको प्रयोग नहुँदा लिन जानेको संख्या निकै कम छ । 

उता मेसिन बिग्रिने समस्याका कारण सवारी चालक अनुमतिपत्रको वितरण हुन सकेको छैन । ट्रायल पास गरेको वा नवीकरण गरेको २ वर्षभन्दा बढीसम्म पनि लाइसेन्स नपाउने अवस्था छ । यो निर्णय कार्यान्वयनले राष्ट्रिय परिचयपत्र लिनेको संख्या बढ्ने भने लाइसेन्स नपाएको गुनासो व्यवस्थापनसमेत हुने विश्वास गरिएको छ ।

लाइसेन्स नपाएको गुनासो थाम्न सरकारले यसअघि नागरिक एपमा अपलोड भएको परिचयपत्र देखाए हुने जनाएको थियो । तर कारबाहीमा परेर चिट काट्नुपर्ने अवस्थामा भने लाइसेन्स नै चाहिने भनेपछि यो प्रभावकारी हुन सकेको थिएन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ