arrow

सार्वजनिक बिदाका दिन पनि खुल्छन् सरकारी कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
cdo-bhaktapur.jpg

भक्तपुर । बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् । गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्ने गरेको र कर्मचारी सेवा दिने गरेको बताइन् । 

शनिबार बाहेकका अन्य चाडबाड तथा पर्वलगायतका सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट  नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै काम हुने उनले बताइन् । 

सेवा दिने कार्यालयमा कर्मचारी सेवाग्राहीको प्रतिक्षामा बसे पनि सेवाग्राहीको आगमन भने कमै हुने गरेको उनले बताइन् । 

सेवाग्राहीलाई सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्छ र सेवा पाइन्छ भन्ने धेरैलाई थाहा नहुँदा सेवाग्राहीको आगमन कम हुँदा त्यस्ता दिनमा यस्ता कार्यालय सुनसान हुने गरेको उनले बताइन् ।

नापी र मालपोत कार्यालय सार्वजनिक बिदामा पनि खुला हुने गरेका छन् ।

सरकारले उभौली पर्व-चण्डीपूर्णिमा, बुद्धजयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिसमस डे, किरात समुदायको उधौली पर्व, योमरी पुन्ही-ज्यापू दिवस, तमुल्होसार, बुद्धजयन्ती, माघी पर्वमा अत्यावश्यकीय सरकारी कार्यालय खुला गर्ने निर्णय गरेसँगै यस्ता कार्यालयमा सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने गरेका छन् । 

त्यस्तै प्रजातन्त्र दिवस, महाशिवरात्रि, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर इद र मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालगायतका सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ला रहने गरेको छ । 

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन्, “बिदाको दिनमा हामीले कर्मचारीको एउटा युनिट राखेका हुन्छौँ । सेवा दिइरहेका हुन्छौँ । सार्वजनिक बिदामा दिनमा निकै कम काम हुन्छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ