काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले नेपाल र दक्षिण अफ्रिका खेलिरहेका छन् ।
वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरेको छ । २२ रन जोड्दा दक्षिण अफ्रिकाले पहिलो विकेट गुमायो भने ६८ रन जोड्दा दोस्रो विकेट गुमायो । त्यसैगरी ७४ रन जोड्दा तेस्रो विकेट गुमायो ।
नेपालका लागि पहिलो विकेट दिपेन्द्र सिंह ऐरीले लिए । ऐरीले गरेको बलिङ आफैँ क्याच गरेका थिए ।
त्यसैगरी त्यसपछिका दुवै विकेट भुर्तेलले लिए । भुर्तेलले कप्तान एडन मार्करमलाई बोल्डआउट गरेका थिए भने हेन्रिच क्लासेनमाथिको बलिङमा करण केसीलाई क्याच दिलाएका थिए ।
नेपालले पहिलो पटक दक्षिण अफ्रिकासँग खेलिरहेको हो । नेपालले उत्कृष्ट बलिङ गरेको छ ।
समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो ।
सुपर एट प्रवेशका लागि सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
अंक तालिका
३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर एटमा पुगिसकेको छ । ३ खेलबाट ४ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने ३ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ ।
नेपाल २ खेलबाट १ र श्रीलंका ३ खेलबाट १ अंकसहित चौथो र पाँचौँ स्थानमा छ । श्रीलंका भने सुपर एटको होडबाट बाहिरिएको छ ।
नेपालले एक अंक बटुलेकाले सुपर एटको सम्भावना कायमै रहेको छ । तर अब वेष्ट इन्डिजमा हुने दुवै खेल जित्नुपर्नेछ ।
दक्षिण अफ्रिकालाई हराउन सक्यो भने नेपालको मनोबल उच्च हुँदा अन्तिम खेलमा बंगलादेशसँग पनि सकारात्मक परिणाम आउने छ ।
नेपालको टिममा सन्दीप लामिछाने पनि हुने भएकाले नेपालको आशा बलियो रहने छ । विपक्षी टिमको मनोबल खस्किन सक्छ ।