arrow

टी–२० विश्वकप क्रिकेट

नेपाल दक्षिण अफ्रिकाविरुद्ध जित नजिक पुगेर पराजित, एक रनको हार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
t20-wc-2024-nep-sa-6.jpg

काठमाडौँ । नेपाल अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको तेस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको छ । 

जित नजिक पुगेर पनि नेपाल एक रनले पराजित भएको हो । नेपालले मात्र ११६ रनको चुनौती पछ्याइरहेको अवस्थामा नेपालले ७ विकेटको क्षतिमा ११४ रनमात्र बनाउन सक्यो । 

नेपालले यो खेल जितेको भए ऐतिहासिक कीर्तिमान हासिल गर्ने थियो । नेपालले दक्षिण अफ्रिकासँग पहिलो पटक खेलेको थियो । 

अन्तिम बलमा गुल्सन झा रनआउट भए । उनले एक रन लिएको भए खेल सुपर ओभरमा पुग्ने थियो । उनले डाइभ गरेको भए रन पूरा हुने थियो । 

नेपालका लागि आसिफ शेखले ४९ बलमा १ छक्का र ४ चौकाको मद्धतले ४२ रन बनाए । तेस्रो विकेटका लागि शेखसँग मिलेर ५० रनको साझेदारी गर्ने क्रममा अनिल साहले २४ बलमा एक छक्काको मद्धतले २७ रन बनाए । 

यसअघि पहिलो विकेटका लागि आसिफसँग मिलेर ३५ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले २१ बलमा एक छक्काको मद्धतले १३ रन बनाएर आउट भएका थिए । सोमपाल कामी ४ बलमा ८ रन बनाएर अविजित रहे । 

विश्वकप इतिहासकै कान्छा कप्तान रोहित पौडेल भने २ बलमा रनको खाता नखोली आउट भएका थिए । 

यसअघि आसिफ शेख व्यक्तिगत १ रन बनाउँदा कागिसो रबाडाबाट क्याचआउट हुनबाट जोगिएका थिए । 

दक्षिण अप्रिकाका लागि ताब्रेज शाम्शीले १९ रन खर्चेर ४ विकेट लिए । 

यसअघि वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गर्दै दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो । 

दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर मात्र ११५ रन बनायो । ओपनर रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । 

त्यस्तै ट्रिस्टन स्टुब्सले १८ बलमा अविजित रहँदै २७ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चेर ३ विकेट लिए । 

विश्वकपमा पहिलो पटक खेल्न पाएका सन्दीप लामिछानेले १८ रन खर्चेर कुनै विकेट लिएनन् । 

भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन । 

यो हारसँगै नेपालको सुपर एटको सम्भावना सकिएको छ । 

नेपालले अब अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । 

समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपाल र श्रीलंका बाहिरिएका छन् । 

पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो । 

यो समूहबाट अब बंगलादेश र नेदरल्याण्ड्समध्ये एक टिम पुग्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ