arrow

सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, श्रेष्ठलाई बनाउन सेटिङ, अख्तियारमा उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
dhitopatra-bord.jpeg

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ । रिक्त भएको ६ महिानभन्दा बढी भइसकेको र नियुक्ति प्रक्रिया सुरु भएको समेत चार महिना बितिसकेको अवस्थामा उक्त प्रक्रिया अघि बढेको हो । यस अन्तर्गत सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार र सोमबारका लागि अन्तवार्ता तथा प्रस्तुतिकरणका लागि बोलाइएको छ । 

यसरी अन्तर्वार्ताबाट लिएपछि उत्कृष्ठ तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाइनेछ । तीमध्ये एक जनालाई सरकारले बोर्डको अध्यक्षको रुपमा नियुक्त गर्नेछ । 

बोर्डमा यसअघि अध्यक्ष नियुक्त भएका हमालको कार्यकाल पुस २० गते सकिएपछि सरकारले माघ ४ गते नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । 

उक्त समितिले फागुन १६ गते अध्यक्ष बन्न इच्छुकलाई आवेदन खुला गरेको थियो यसका लागि १९ जना व्यक्तिले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच जनाको नाम चैत २५ गते समितिले सिफारिस गरेर अन्तवार्ताका लागि बोलाइए पनि त्यसपछि रोकिएको नियुक्ति झण्डै २ महिना त्यत्तिकै अड्किएको हो । 

अहिले अध्यक्ष नियुक्तिका लागि बोर्डका कार्यकारी निर्देशकद्वय नवराज कार्की र मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई सर्टलिस्टमा छन् । 

अध्यक्ष नियुक्ति प्रक्रिया लामो समय रोकिएर अहिले सुरु हुनुमा खासगरी योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनको अन्तर्द्वन्द्व मुख्य कारण देखिएको छ । छनौट भएका ५ जनाको नाममा असन्तुष्टि जनाउँदै अर्थमन्त्री पुनले अध्यक्ष नियुक्ति प्रक्रिया रोकिदिएका थिए । 

मन्त्रिपरिषद्ले बनाएको समिति स्वतन्त्र हैसियत हुने भए पनि अर्थसचिव सदस्य रहने तथा सचिवालय समेत अर्थ मन्त्रालयमै हुने भएकोलो अर्थमन्त्रीको अप्रत्यक्ष नियन्त्रण यसमा हुन्छ । 

अर्कोतर्फ समितिले सिफारिस गरेको नाम मन्त्रिपरिषद्मा पेश गर्ने जिम्मेवारी समेत अर्थमन्त्रीकै हुने भएकोले पनि उनलाई बाइपास गरेर समिति अघि बढ्नसक्ने अवस्था हुँदैनथ्यो । अहिले भने अर्थमन्त्री पुनको ग्रीन सिग्नल पाएपछि प्रक्रिया अघि बढाइएको हो । 

नयाँ नियुक्त हुने अध्यक्षलाई नयाँ स्टक एक्सचेञ्जदेखि कमोडिटिड एक्सचेञ्जसम्मको लाइसेन्स दिने सुविधा हुनेछ । उक्त लाइसेन्स दिने प्रक्रियामा मोटो कमिसन लिन पाइने भएपछि अहिले बोर्डको अध्यक्ष सबैको आकर्षणको विषय बनेको छ । 

सर्टलिस्टमा परेका पाँच जनामध्ये अध्यक्षको सबैभन्दा प्रबल दाबेदार सन्तोषनारायण श्रेष्ठलाई मानिएको छ । उनले बिचौली दीपक भट्टमार्फत प्रधानमन्त्रीदेखि सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सेटिङ मिलाइसकेको बुझिएको छ । छनोट प्रक्रिया अघि बढेसँगै नियुक्ति प्रक्रियामा चलखेल गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ