- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले बंगलादेशसँग खेल्दैछ ।
वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर बलिङ गर्दैछ । कप्तान रोहित पौडेलले मौसम र पिचको अवस्था बुझ्नका लागि पनि पहिलो बलिङ रोजेको बताएका छन् ।
यो खेलमा करण केसीको ठाउँमा सन्दीप जोराले खेल्ने भएका छन् ।
यसअघि तेस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएसँगै नेपाल सुपर एटको होडबाट बाहिरिएको थियो ।
शनिबार बिहान भएको उक्त खेलमा नेपाल जित नजिक पुगेर पनि एक रनले पराजित भएको थियो । नेपालले मात्र ११६ रनको चुनौती पछ्याइरहेको अवस्थामा नेपालले ७ विकेटको क्षतिमा ११४ रनमात्र बनाउन सक्यो ।
नेपालले यो खेल जितेको भए ऐतिहासिक कीर्तिमान हासिल गर्ने थियो । नेपालले दक्षिण अफ्रिकासँग पहिलो पटक खेलेको थियो ।
अन्तिम बलमा गुल्सन झा रनआउट भए । उनले एक रन लिएको भए खेल सुपर ओभरमा पुग्ने थियो । उनले डाइभ गरेको भए रन पूरा हुने थियो ।
नेपालका लागि आसिफ शेखले ४९ बलमा १ छक्का र ४ चौकाको मद्धतले ४२ रन बनाए । तेस्रो विकेटका लागि शेखसँग मिलेर ५० रनको साझेदारी गर्ने क्रममा अनिल साहले २४ बलमा एक छक्काको मद्धतले २७ रन बनाए ।
यसअघि पहिलो विकेटका लागि आसिफसँग मिलेर ३५ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले २१ बलमा एक छक्काको मद्धतले १३ रन बनाएर आउट भएका थिए । सोमपाल कामी ४ बलमा ८ रन बनाएर अविजित रहे ।
विश्वकप इतिहासकै कान्छा कप्तान रोहित पौडेल भने २ बलमा रनको खाता नखोली आउट भएका थिए ।
यसअघि आसिफ शेख व्यक्तिगत १ रन बनाउँदा कागिसो रबाडाबाट क्याचआउट हुनबाट जोगिएका थिए ।
दक्षिण अप्रिकाका लागि ताब्रेज शाम्शीले १९ रन खर्चेर ४ विकेट लिए ।
यसअघि वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गर्दै दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो ।
दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर मात्र ११५ रन बनायो । ओपनर रिजा हेन्डरिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए ।
त्यस्तै ट्रिस्टन स्टुब्सले १८ बलमा अविजित रहँदै २७ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन खर्चेर ३ विकेट लिए ।
विश्वकपमा पहिलो पटक खेल्न पाएका सन्दीप लामिछानेले १८ रन खर्चेर कुनै विकेट लिएनन् ।
भुर्तेलले डेभिड मिलरमाथि गरेको एलबीडब्ल्यू आउटको अपील भने अम्पायर कलिङले आउट दिएको थिएन ।
समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपाल र श्रीलंका बाहिरिएका छन् ।
पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो ।
यो समूहबाट अब बंगलादेश र नेदरल्याण्ड्समध्ये एक टिम सुपर एटमा पुग्नेछ ।
अहिले नेपालले बंगलादेशलाई हराउने हो र नेदरल्याण्ड्सले श्रीलंकालाई पराजित गर्ने हो भने नेदरल्याण्ड्स सुपर एटमा पुग्नेछ ।