arrow

टी–२० विश्वकप क्रिकेट 

नेपाल बंगलादेशसँग २१ रनले पराजित, बलिङमा शान, ब्याटिङमा लखतरान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
t20-wc-2024-nep-ban-yy.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । 

वेष्ट इन्डिजको किंग्सटाउनमा भएको खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । 

१०७ रनको चुनौती पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै १९.२ ओभरमा अलआउट हुँदै ८५ रनमात्र बनाउन सक्यो । 

बिर्सनयोग्य ब्याटिङ गर्ने क्रममा २६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि छैटौँ विकेटको साझेदारीले उक्त योगफलसम्म लगेको हो । 

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लबीच ५२ रनको साझेदारी भएको थियो । सो क्रममा मल्ल ४० बलमा १ छक्का र १ चौकाको मद्धतले ४० बलमा २७ रन बनाए । दीपेन्द्रले ३१ बलमा १ छक्का र २ चौकाको मद्धतले २५ रन बनाए । 

आसिफ शेखले १४ बलमा १७ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४ रन बनाए भने रोहित पौडेल र सन्दीप जोराले १–१ रन बनाउँदा गुल्सन झा, सन्दीप जोरा, अविनाश बोहरा र सन्दीप लामिछानेले रनको खाता खोल्न सकेनन् । 

तन्जिम हसल सकिबले ४, मुस्तफिजुर रहमानले ३ तथा शकिब अल हसनले २ विकेट लिए । 

यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्दै बंगलादेशलाई १०६ रनमा रोक्यो । 

बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रनमात्र बनाएको हो । शकिब उल हसनले सर्वाैधिक १७ रन बनाए । 

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने दुई खेलाडी रनआउट भएका थिए । 

जवाफमा ब्याटिङमा उत्रिएको नेपालले खराब शुरुआत गरेको छ । ३ ओभरमा ९ रन जोड्दा २ विकेट गुमायो । कुशल भुर्तेलले ८ बलमा ४ तथा अनिल साहले रनको खाता नखोली आउट भए । 

–नेपाललाई पहिलो बलमै सफलता मिलेको थियो । सोमपाल कामीले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गर्न सफल भएका हुन् । 

–नेपालले पहिलो ओभरमै दोस्रो विकेटका रुपमा अम्पायरले आउट दिएका भए पनि बंगलादेशले लिएको रिभ्युमा भने सफलता हासिल गरेको थियो । 

–दोस्रो ओभरमा नेपालले दोस्रो विकेट लियो । दीपेन्द्र सिंह ऐरीले आफ्नो तेस्रो बलमै विकेट लिन सफल भए । उनले कप्तान निजामुल हसन शान्टोलाई बोल्ड आउट गरे । 

–तेस्रो विकेटका रुपमा सोमपालले व्यक्तिगत दोस्रो विकेट लिए । उनले लिटन दासलाई व्यक्तिगत १२ रनमा आउट गरे । 

–चौथो विकेट कप्तान रोहित पौडेलले लिए । उनले आफ्नो बलिङको चौथो बलमा टहिट हृदयलाई आउट गरे । उनले गरेको बलिङमा सन्दीप लामिछानेलाई क्याच थमाएका थिए । 

–पाँचौँ विकेटका रुपमा सन्दीप लामिछाने र गुल्सन झाले महमुल्लाहलाई व्यक्तिगत १३ रनमा रनआउट गरे । 

–छैटौँ विकेटका रुपमा रोहित पौडेलले व्यक्तिगत दोस्रो विकेट लिए । उनले शकिब उल हसनलाई व्यक्तिगत १७ रनमा एलबीडब्ल्यू आउट गरे । 

–सातौँ विकेट सन्दीप लामिछानेले लिए । उनले तान्जिम हसन सकिबलाई व्यक्तिगत ३ रनमा बोल्डआउट गरेका हुन् ।  

– आठौँ विकेटका रुपमा सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिए । जाकर अलीलाई व्यक्तिगत १२ रनमा बोल्ड आउट गरे । योसँगै सन्दीपले टी–२० अन्तर्राष्ट्रियमा सय विकेट पूरा गरेका छन् । 

–नवौँ विकेट दीपेन्द्र सिंह ऐरीले लिए । उनले रिशद हुसेनलाई व्यक्तिगत १३ रन बनाउँदा अनिल साहलाई क्याच दिलाउन पुगे । 

– दशौँ विकेटका रुपमा मुस्तफिजुर रहमान व्यक्तिगत ३ रन बनाउँदा रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले रन आउट गरे । 

यो हारसँगै नेपालको जारी विश्वकपको यात्रा सकिएको छ । नेपालले रद्द भएको खेलमा श्रीलंकाबाट अंक बाँड्यो भने नेदरल्याण्ड्ससँग ६ विकेटको तथा दक्षिण अफ्रिकासँग एक रनको हार बेहोरेको थियो । 

नेपालले बलिङतर्फ सबैको मन जिते पनि ब्याटिङमा भने बिर्सनयोग्य नै प्रदर्शन गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ