- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा आयोजक वेस्ट इन्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ । मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको २१९ रनको लक्ष्य अफगानिस्तानले १६.२ ओभरमा अल आउट हुँदै ११४ रन मात्र बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक ३८ रन बनाए भने अज्मतुल्लाह ओमार्जाईले २३ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले सर्वाधिक ३ विकेट लिए भने अकील हुसैन र गुडकेश मोतीले २–२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । यो जारी विश्वकपकै सर्वाधिक स्कोर हो ।
वेस्ट इन्डिजका लागि निकोलस पुरनले आक्रामक ब्याटिंग गर्दै ५३ बलमा ९८ रन बनाएका थिए । त्यस्तै जोन्सन चार्लेजले ४३, कप्तान रोभमन पावेलले २६ र शाइ होपले २५ रन बनाएका थिए ।
यो जितपछि समूह सी मा वेस्ट इन्डिज चारै खेल जितेर ८ अंकसहित सुपर आठमा पुगेको छ भने अफगानिस्तानले ४ मध्ये ३ खेल जितेर सुपर आठमा पुगेको छ ।
अब जारी विश्वकपमा सुपर आठका खेलहरु हुने छन् । सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका पुगेका छन् ।
सुपर आठको समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समूह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।
सुपर आठको दुई समूहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
सुपर आठका खेलहरु बुधबारदेखि हुने छन् ।