arrow

एसमा महाधिवेशनको तातो

एसको नेतृत्व लिन माधव र झलनाथबीच रस्साकस्सी

घनश्याम च्याँखे थाप्दै, जनन्नाथ र प्रकाश महासचिवको होडमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
madhav-jhalanath-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशनमा वर्तमान अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

पार्टी विभाजनको औचित्य प्रष्ट पार्ने भन्दै नेपालले अध्यक्ष पद नछाड्ने र खनालले एमालेभन्दा फरक देखिनुपर्ने भन्दै अध्यक्षमा दाबी गरिरहेपछि प्रतिस्पर्धा निश्चित देखिएको हो ।

माधव नेपालले आफ्नो सचिवालयलाई प्रयोग गरेर प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन् भने खनालले पनि आफ्नो घर डल्लुमा कार्यकर्ता बोलाएर छलफल गरिरहेका छन् । 

उनले वर्तमान महासचिव घनश्याम भुसाललाई समेत आफ्नो पक्षमा खुल्न आग्रह गरिरहेका छन् । भुसाल भने आफैँ अध्यक्ष लड्ने तयारीमा लागेका छन् ।

नेपालको तयारीका लागि पोलिटब्युरो सदस्य रामकुमार भट्टराई, केन्द्रीय सदस्यहरु लक्ष्मण पौडेल, मोहन गौतम, दिलु पन्त, सुदेश पराजुली, जीवन राईको टिम नै परिचालन भएको छ । 

सो टिमले बिहीबार काठमाडौँमा केही पत्रकारहरुसँग प्रचार रणनीतिको बारेमा छलफल पनि गरेको थियो ।

महाधिवेशन तयारीसँगै नेतृत्वका लागि पनि जोडघटाउ शुरू भएको छ । वर्तमान अध्यक्ष माधवकुमार नेपालले फेरि पनि नेतृत्वमा दोहोरिन चाहेपछि नेपाल पक्षले ९२ प्रतिशत प्रतिनिधिहरु आफ्नो पक्षमा रहेको बताएको छ । 

त्यस्तै वरिष्ठ नेता खनालले पनि अध्यक्ष पदका लागि तयारी थालेका छन् । महासचिव घनश्याम भुसालले पनि अध्यक्ष पदमा दाबी गरिरहेका छन् । उनीहरुले प्रतिनिधिको बारेका केही बताएका छैनन् । 

खनालको प्रतिस्पर्धालाई नेपाल पक्षधरले खास गम्भीर रुपमा लिएको छैन ।  नेपाल पक्षले भुसाललाई अवसरवादी नेताको रुपमा चित्रण गर्दै महासचिव पदमा पनि जगन्नाथ खतिवडालाई अघि सारेको छ ।
 
एमालेबाट विद्रोेह गरी नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि गर्ने अवस्था आएको बताउँदै अध्यक्ष नेपालले महाधिवेशन तयारीमा जुट्न पार्टी पंक्तिलाई आग्रह गरिसकेका छन् । 

महाधिवेशनसँगै नेकपा एसभित्र जनताको बहुदलीय जनवाद (जबज) को विषयलाई लिएर विवाद उत्पन्न भएपछि उनले जबज नै मार्गदर्शक सिद्धान्तको रुपमा रहेको र यसलाई अघि बढाउनुको विकल्प नभएको बताउँदै आएका छन् । 

नेता खनालले जबजलाई नमान्ने र जबज मान्ने हो भने एमाले नै सबैभन्दा ठूलो जबजवादी पार्टी रहेको भन्दै आएका छन् । भुसालले भने नयाँ समाजवादी क्रान्ति भन्दै अर्को एउटा फण्डा निकालेका छन् ।
 
यतिबेला नेतृत्वमा रहिरहन नेपाल तथा नेतृत्वमा पुग्न खनाल र भुसालले आ–आफ्नै किसिमको तयारी गरेका छन् । अध्यक्ष नेपालले भने पार्टीले जबज मान्ने र नेतृत्व पनि सर्वसम्मत चयन हुने बताइसकेका छन् ।

त्यस्तै महासचिवमा प्रचार विभाग प्रमुख एवं हालका उपमहासचिव जगन्नाथ खतिवडाले चाहना देखाएका छन् । उनले आफू महासचिव बन्ने तयारीमा लागेको जानकारी अध्यक्ष नेपाललाई गराइसकेका छन् । देशव्यापी जनसम्पर्क भएकाले पनि खतिवडाका लागि महासचिव बन्न सहज हुने कार्यकर्ताहरूको दाबी छ । नेपाल पक्षले भुसालको विकल्पमा खतिवडालाई अघि सारेको छ ।
 
वैचारिक रूपमा सक्षम र स्पष्ट तथा विद्यार्थी मोर्चाबाट उदाएका नेता भएकाले पार्टीभित्र खतिवडालाई रुचाउने धेरै भएको बताइन्छ । 

यसैगरी प्रकाश ज्वालाले पनि आफू महासचिवको तयारीमा लागेको बताउँदै आएका छन् । उनले पनि यसबारे अध्यक्ष नेपाललाई जानकारी गराएका छन् । यी दुवैजना अध्यक्ष नेपाल नजिक मानिन्छन् । 

भौतिक योजना मन्त्रालयमा हुँदा विवादित बनेका ज्वालालाई कार्यकर्ताले खास मन पराएका छैनन् । घनश्याम भुसाललाई पछि आएको र उनी अवसरवादी रहेको भन्दै नेपालले खतिवडा र ज्वालामध्ये एक जनालाई महासचिव बनाउने संभावना रहेको स्रोतको दाबी छ ।

पार्टी नेतृत्व र सञ्चालनका लागि वैचारिक नीति तथा कार्यक्रमका आधारमा प्रतिस्पर्धा हुने नेताहरूले बताएका छन् । पार्टीको तल्लोदेखि माथिल्लो तहका नेता सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने प्रावधान भएकाले महाधिवेशनमा पेस गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान संशोधन र सांगठनिक दस्ताबेज थप समृद्ध बनाउन सबै जिल्ला तथा मातहतका कमिटीमा छलफलका लागि पठाइएको छ । अबको बैठकले त्यसलाई पास गर्ने तयारी थालिएको छ ।

नेकपा एसले महाधिवेशन लोगो पनि सार्वजनिक गरिसकेको छ । नेपालको फरफराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको लोगोमा कम्युनिस्ट पार्टीको झण्डा राखिएको छ । 

‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ’ भन्ने नारा लोगोमा लेखिएको छ । 

महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम छ । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टी अध्यक्ष नेपालको नेतृत्वमा मूल व्यवस्थापन कमिटी र अन्य १४ वटा कमिटी निर्माण गरिएको छ ।
 
महाधिवेशन नजिकिँदै गर्दा नेकपा एसले महाधिवेशन तयारीसँगै नेताहरूको चाहनालाई ध्यानमा राखेर उमेरको हदबन्दी हटाएको छ । 

महाधिवेशनमा कम्युनिस्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरूलाई ध्यानमा राखेर उमेर हदबन्दी हटाइएको उसले जनाएको छ । 

उमेर हदबन्दी हटेपछि पहिलो पुस्ताका नेता पनि विभिन्न पदमा प्रतिस्पर्धा गर्न पाउने छन् । ‘अग्रज नेताहरूले पार्टीमा योगदान गर्नुभएको छ, अझै योगदान गर्ने र पार्टी निर्माणमा लाग्ने उत्साह देखाउनुभएको छ । यो भावनालाई हामीले ध्यान दिनुपर्छ’, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने । 

यसअघि पार्टीले ७० वर्ष उमेर कटेका नेता कार्यकारी पदमा बस्न नपाइने व्यवस्था गरेको थियो । यो व्यवस्था एमालेमा रहँदा नै थियो । एमालेले पनि उमेरहदलाई खुकुलो बनाएको छ ।
 
नेकपा एसले महाधिवेशनमा प्रतिनिधि हुन कम्तीमा ३ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । २०७८ साल भदौमा एमालेबाट विभाजन भएर नेकपा एस गठन भएको हो । नेकपा एसले महाधिवेशनमा प्रतिनिधि छनोटका लागि एमालेकै सदस्यतालाई कायम गरेको छ । 

महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटबारे तीन वर्षे पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने प्रस्ताव संगठन विभाग प्रमुखसमेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसालले राखेका छन् । 

नेकपा एसले अन्तरपार्टी निर्देशन जारी गरी देशभर संगठित सदस्यको संख्या एक लाख ४६ हजार ७१७ रहेको जनाएको छ । तिनै सदस्यबाट एक हजार सात सय ७८ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । यिनै प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन् । र, आफू पनि उम्मेदवार बन्न पाउने छन् । 

अध्यक्ष नेपालले गत साता जारी गरेको  अन्तरपार्टी निर्देशन (अपानि–१४) जारी गर्दै दसौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका– २०८१ मार्फत प्रतिनिधिको योग्यता तोकेका हुन् । 

निर्देशिकामा असार ५ गते देशभर एकैपटक प्रतिनिधि चयन गरिएको छ । भूगोलका संघीय निर्वाचन क्षेत्र र उपत्यका प्रदेश तथा सम्पर्क प्रदेश अन्तर्गतका जिल्ला कमिटीका कार्य क्षेत्रबाट १२५ संगठित पार्टी सदस्य बराबर एक प्रतिनिधिका दरले प्रतिनिधि छनोट भएका छन् । 

थप संख्या आउनका लागि कुल सदस्य संख्यालाई १२५ ले भाग गर्दा शेष भाग कम्तीमा शून्य प्वाइन्ट पाँच (०.५) रहेको हुनुपर्ने व्यवस्था गरिएपछि त्यसलाई पनि ध्यान दिइएको छ । 

‘दशौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित सदस्यता प्राप्त गरी कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने छ, संगठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत पार्टीमा संगठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ । योग्यता नपुगेका व्यक्ति प्रतिनिधि छनोट भएमा प्रतिनिधि रद्द हुनेछ’, अपानीमा लेखिएको छ । पूर्ववर्ती पार्टी भन्नाले नेकपा एमाले रहेको नेकपा एसका नेताले जनाएका छन् ।

नेकपा एसले महाधिवेशनमा एक हजार सात सय ७८ जना प्रतिनिधि सहभागी हुने जनाएको छ । जसमध्ये ३४६ जना केन्द्रीय कमिटी सदस्य, विभिन्न आयोगका पदाधिकारी र सदस्य गरी ४५० जना स्वतः प्रतिनिधि चयन हुनेछन् । 

यीबाहेक एक हजार ३२८ जना निर्वाचित भएर आउनेछन्, जसमध्ये कोशी प्रदेशबाट १४३, मधेस प्रदेशबाट २९६, बागमती प्रदेशबाट २०५, गण्डकी प्रदेशबाट ७०, लुम्बिनी प्रदेशबाट १३०, कर्णाली प्रदेशबाट १७१ जना प्रतिनिधि निर्वाचित हुनेछन् । 

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट १४२, उपत्यका प्रदेशबाट २३, सम्पर्क प्रदेशबाट २२, भारत प्रवासबाट ८, अन्य प्रवासबाट १५, मजदुर विशेष आरक्षणबाट २०, विभाग तथा फाँटबाट ३२ र महासंघबाट ८५ जना प्रतिनिधि चुनिने छन् । 

त्यस्तै जनसंगठनबाट ५६, परिषद् तथा ज्येष्ठ कम्युनिस्ट मञ्च केन्द्रीय सल्लाहकारबाट १० जना प्रतिनिधि चयन हुनेछन् । 

त्यसमा महिला ४२५, दलित १५० र खुला एक हजार ३०३ जना हुनेछन् । हालसम्म छनोट भएका प्रतिनीधिहरुले नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न आग्रह गरिरहेको नेताहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ