arrow

टी–२० विश्वकपमा अष्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
t20-wc-afg-win-24-6-23.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिल जित हासिल गरेको छ । अफगानिस्तानले अष्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको हो । 

अफगानिस्तानले अहिलेसम्म टी–२० मा अष्ट्रेलियालाई हराउन सकेको थिएन । किंग्सटाउनमा भएको खेलमा अफगानिस्तान २१ रनले विजयी भएको हो । 

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १४८ रन बनायो । पहिलो विकेटका लागि ११८ रनको साझेदारी गर्ने क्रममा रहमुल्लाह गुर्बाजले ४९ बलमा ६० तथा इब्राहिम जद्रानले ४८ बलमा ५१ रन बनाए । 

पाट कमिन्सले ३ तथा एजम जम्पाले २ विकेट लिए । 

जवाफमा अष्ट्रेलियाले १९.२ ओभरमा अलआउट हुँदै १२७ रन बनायो । ग्लेन म्याक्सवेलले ४१ बलमा ५९ रन बनाए । ऐतिहासिक जित दिलाउने क्रममा प्लेयर अफ द म्याच गुल्बादिन नैबले २० रन खर्चेर ४ तथा नवीन उल हकले २० रन खर्चेर ३ विकेट लिए । 

यो नतिजासँगै सुपर एट सम्भावना पनि रोमाञ्चक बनेको छ । लगातार दोस्रो जितसहित भारत शीर्ष स्थानमा छ । 

समान २ खेलमा अष्ट्रेलिया र अफगानिस्तानको समान २ अंक छ भने बंगलादेश पुछारमा छ । 

नर्थ साउन्डमा गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएसँगै बंगलादेश बाहिरिएको छ । 

अब अन्तिम खेलबाटै सेमिफाइनल पुग्ने दुई टिमको टुंगो लाग्नेछ । 

भारत र अष्ट्रेलियाबीचको भिडन्त तथा अफगानिस्तान र बंगलादेशबीचको भिडन्तपछिमात्र दुई टिमको छिनोफानो हुनेछ । 

सुपर ८ को समूह २ मा २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । वेष्ट इन्डिज र इङ्गल्याण्डको समान २ अंक छ । अंकविहीन अमेरिका अन्तिम खेल खेल्नुअघि नै बाहिरिएको हो । 

समूह चरणको अन्तिम खेलमा अमेरिकाले इङ्गल्याण्डसँग र दक्षिण अफ्रिकाले वेष्ट इन्डिजसँग खेल्नेछ । 

तीनमध्ये दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ