arrow

भ्रष्टाचार नियन्त्रण गर्न सत्ता र प्रतिपक्षी दल मिलेर लाग्नुपर्छ : सांसद सुवेदी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
jhakku-subedi-02-29.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले भ्रष्टाचार र अनियमितता मुलुक समृद्धिको बाधक भएकाले यसको नियन्त्रणका लागि सत्ता र प्रतिपक्षी दल सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद सुवेदीले नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याललगायत विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको सम्बन्धमा कर्मचारीतन्त्रको सबभन्दा माथिको व्यक्ति नै मुछिनु दुःखद् भएको बताए । 

उनले सुशासनका निम्ति भ्रष्टाचार तगारो रुपमा देखिएकाले सत्ता पक्ष र प्रतिपक्षी दल मिलेर यसका विरुद्ध लाग्नुपर्ने खाँचो औँल्याए । उनले अछाममा छाउगोठमा बसेकी एक किशोरी आफन्तबाट बलात्कृत भएको घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै छानबिन गरी कारबाहीको माग गरे ।

नेपाली कांग्रेसका सांसद कमला पन्तले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै यसको नियन्त्रण गर्न राजनीतिक र प्रशासनिक दुवै तवरबाट लाग्नुपर्नेमा जोड दिए । 

उनले यी दुवै पक्षबीच समझदारी र समन्वय नभई भ्रष्टाचार हुन नसक्ने उल्लेख गर्दै यसका कारणहरु पत्ता लगाएर भ्रष्टाचार नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताए । 

सांसद पन्तले मुख्यसचिव डा अर्याललगायत विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको घटना दुःखद् भएको जिकिर गर्दै यसले सम्पूर्ण निजामती क्षेत्रको शिर निहुरिएको उल्लेख गरे । 

उनले नीतिगत भ्रष्टाचारको समेत अनुसन्धान गर्ने, सुनुवाइ गर्ने र मुद्दासमेत चलाउन सक्ने अधिकार सम्पन्न विधेयकको आवश्यकता औँल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ