arrow

अफगानिस्तानले रच्यो इतिहास, टी–२० विश्वकपको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
t20-wc-2024-afg-win-iwn.jpg

काठमाडौँ । अफगानिस्तान टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को अन्तिम खेलमा बंगलादेशमाथि ८ रनको जित हासिल गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो । 

अफगानिस्तान कुनै विश्वकपको सेमिफाइनलमा पहिलो पटक पुगेको हो । अफगानिस्तान सेमिफाइनलमा पुगेसँगै अष्ट्रेलिया बाहिरिएको छ । 

समूह चरणमा अष्ट्रेलियालाईसमेत हराएर इतिहास रचेको अफगानिस्तानले अन्तिम खेलमा बंगलादेशमाथि जित हासिल गरेसँगै सेमिफाइनलमा पुगेको हो । 

अब सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भारत र इङ्गल्याण्ड खेल्नेछन् । 

अफगानिस्तानले किंग्सटाउनमा भएको खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ११५ रन बनायो । रहमनुल्लाह गुर्बाजले ५५ बलमा ४३ तथा कप्तान राशिद खानले १० बलमा अविजित रहँदै १९ रन बनाए । 

रिशद हुसेनले ३ विकेट लिए । जवाफमा वर्षाले १९ ओभरमा झारिएको खेलमा बंगलादेशले १७.५ ओभरमा अलआउट हुँदै १०५ रनमात्र बनायो । 

यो खेलमा बंगलादेश १२.१ ओभरमा विजयी भएको भए आफैँ सेमिफाइनलमा पुग्ने थियो । यदि बंगलादेशले सामान्य जित हासिल गरेको भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने थियो ।

तर अफगानिस्तान आफैँले जितेर सेमिफाइनलमा ठाउँ बनायो । कमजोर बंगलादेशका लागि ओपनर लिटन दासले ४९ बलमा अविजित रहँदै ५४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

अफगानिस्तानका लागि नवीन उल हक र राशिद खानले ४–४ विकेट लिए । 

सेमिफाइनल खेल बिहीबार हुनेछन् । बिहान ६ः१५ मा अफगानिस्तान र दक्षिण अफ्रिका खेल्नेछन् भने राति भारत र इङ्गल्याण्ड भिड्ने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ