arrow
ADVERTISEMENT

टी–२० विश्वकपको फाइनल हुँदै, भारत दोस्रो र दक्षिण अफ्रिका पहिलो उपाधिको खोजीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
t20-wc-2024-ind-say.jpg

काठमाडौँ । जारी टी–२० विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदै छ । बरबाडोसमा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि शुरु हुनेछ ।

सेमिफाइनलमा भारतले इङ्गल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

भारत २०१४ पछि पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले २००७ को टी–२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । 

त्यस्तै दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका यसअघि २०१४ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो ।

भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी–२० खेल भएका छन् । जसमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । त्यस्तै एक खेल नतिजाविहीन बनेको थियो ।

भारतका लागि कप्तान रोहित शर्मा सबैभन्दा बढी सफल ब्याट्सम्यान देखिएका छन् । यस विश्वकपमा रोहितले ७ खेलमा ३ अर्धशतकसहित २४८ रन बनाएका छन् । त्यस्तै सूर्यकुमार यादवले ७ खेलमा २ अर्धशतकसहित १९६ रन बनाएका छन् भने ऋषव पन्तले ७ खेलमा १७१ रन बनाएका छन् । 

त्यस्तै भारतका लागि अर्शदीप सिंह सर्वाधिक सफल बलर रहेका छन् । उनले यस विश्वकपका ७ खेलमा कुल १५ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् । त्यस्तै भारतका जसप्रित बुमराहले १३, कुलदीप यादवले १० विकेट लिएका छन् ।

त्यसैगरी दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा क्विटन डि ककले सर्वाधिक २०४ रन बनाएका छन् भने डेभिड मिलरले १४८ रन बनाएका छन् ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरिक नोकियाले सर्वाधिक १३ विकेट लिएका छन् भने कागिसो रबाडाले १२ र ताब्रेज शाम्शीले ११ विकेट लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ