arrow

मनसुनी वायुको प्रभाव देशभर, सतर्कता जरूरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
duban-sarlahi-81-3-14.jpg
तस्बिर – सर्लाहीको चुरेभेग पथ्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको सदरमुकाम मलङ्गवाको पूर्वी क्षेत्र ।

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा  बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

आज राति पनि देशभर पूर्णतया बदली रही मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ । 
 



नयाँ