arrow

बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु, १९ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
accident-final.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बाहक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किएर दुर्घटनापछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दुधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो ।  

बुधबार बिहान ५ः१५ बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको हो ।  

दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताएका छन् । प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औंल्याएको छ ।

घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र पछि जिल्ला अस्पतालमा रेफर गरिएको राठीले बताए । 

दुर्घटनालगत्तै स्थानीयले प्रहरीलाई सूचना गरेपछि घाइतेहरूलाई अस्पताल पुर्याउन उद्धार टोली र एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुग्दासम्म केही स्थानीयले घाइतेलाई क्षतिग्रस्त बसबाट बाहिर निस्कन मद्दत गरिरहेको एक प्रहरी अधिकारीले बताए । क्षतिग्रस्त बस र दूध ट्याङ्करलाई क्रेन प्रयोग गरेर सडकबाट निकालिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उचित उपचार सुनिश्चित गर्न अधिकारीलाई निर्देशन दिएका छन् ।

प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको छ ।

भारतमा हरेक वर्ष लगभग पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार  मानिसहरूको मृत्यु हुने अधिकारीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ