- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड कम्तीमा चार ठाउँमा पहिरो र कटान जाँदा आवागमन अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला, अन्नपूर्ण गाउँपालिकाको पुरै र रघुगङ्गा गाउँपालिकाको छवटा वडामा यातायात सञ्चालन हुन सकेका छैनन् ।
बेनी-जोमसोम सडक आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीका अनुसार रघुगङ्गा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो र कटानका कारण सडक अवरुद्ध बनेको छ ।
“अन्नपूर्णको रुप्से, गुइठेभिर, भिरकाटे र दोवाखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन भएको छ”, उनले भने, “कालीओडार, सिरुवारी र बैसरीमा पहिरो पन्छाउन सडक विभागको डोजर, लोडरलगायत उपकरण, प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छौँ ।”
बेनी-जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने रघुगङ्गा-३ गायत्री मन्दिर नजिकै रघुगङ्गा नदीले कटान गरेर भासिएको सडक मर्मत गर्न केही समय लाग्ने सबइन्जिनियर कार्कीले बताए ।
“भिर काटेको पहिरोबाहेक अन्य पहिरो बेनी-जोमसोम सडकमा हरेक मनसुनमा दैनिक झरिरहने नियमित र अति जोखियुक्त पहिरो हुन्”, उनले भने, “सडक अवरुद्ध हुँदा रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक, तिर्थयात्रीहरूलाई समस्या भएको छ ।”
सडक अवरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सडकलगायत विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका किसानले उत्पादन गरेको आलु बजार पठाउन समस्या भएको छ ।
पहिराले पोल ढलाएपछि अन्नपूर्ण गाउँपालिकाका अधिकांश वडामा विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको अन्नपूर्ण-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
यसैबीच फापरखेत र बाङ्गेपहिरामा अवरुद्ध म्याग्दीको पश्चिमी क्षेत्रका धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक खुलाउन डोजर परिचालन गरिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ । रासस