- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजश्व वृद्दि गर्नु पर्ने बताएका छन् । बुधबार विज्ञापन बोर्डका गतिविधिको बारेमा जानकारी लिँदै मन्त्री गुरुङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
उनले ३० अर्बको विज्ञापन बजारमा १३ अर्बको मात्र कारोबार हुनु र वाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नु पर्ने २० अर्बमा २ अर्बमात्र राजश्व संकलन हुने परम्पराको अन्त्यको लागि संघीय सरकार, प्रदेश र स्थानीय तहले साझा प्रयास गर्नु पर्ने बताए ।
विज्ञापन बजारको विकास र विस्तारका लागि कार्ययोजना तयार गर्नसमेत मन्त्री गुरुङले बोर्डलाई निर्देशन दिए ।
विज्ञापन बजारको बारेमा जानकारी गराउँदै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन (नियमन गर्ने) नियमावलीको पहिलो संशोधनबाट विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण हुने बताए ।
उनले सञ्चार माध्यमको बिलको प्रतिलिपि राखेरमात्र विज्ञापनको रकम भुक्तानी गर्न पाउने ब्यवस्था कानूनमा गरिएको जानकारी गराए । विज्ञापन एजेन्सीको सेवा शुल्क पारदर्शी बनाउन यस्तो ब्यवस्था गरिएको बोर्डका अध्यक्ष हुमागाईंले बताए ।
वाह्य विज्ञापन (होर्डिंङ्ग बोर्ड) तर्फ राजश्व संकलन स्थानीय तहबाटै गराउन कानूनको निर्माण भइरहेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहसँग बोर्डले समन्वय गरिरहेको अध्यक्ष हुमागाईंले जानकारी गराए ।
सामाजिक सञ्जालमा हुने विज्ञापनको नियमनको लागि कानूनको मस्यौदा तयार गरिएको जानकारी गराउँदै हुमागाईंले त्यसका लागि विज्ञापन (नियमन गर्ने) ऐनमै संशोधन आवश्यक भएको बताए ।
चलचित्र घर, नाट्यशाला, मेला महोत्सवमा हुने विज्ञापनको नियमन स्थानीय तहबाटै गर्ने गरी कानून निर्माण भइरहेको जानकारी गराउँदै उनले निकट भविश्यमै प्रदेशहरुले प्रदेश निर्देशिका र स्थानीय तहले स्थानीय कानून निर्माण गरी तीनै तहका सरकारवाट विज्ञापनको नियमनको कार्य थालनी हुने जानकारी मन्त्री गुरुङलाई गराए ।
२०७८ सालमा गठन भएको विज्ञापन बोर्डले संघ, प्रदेश तथा स्थानीय तहमा हुने विज्ञापनको नियमनका लागि काम गरिरहेको छ । २०७९ साल विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण आचारसंहिता निर्माण गरी कार्यान्वयनमा ल्याएको छ भने स्थानीय तहका सार्वजनिक हित तथा जनहितका सूचनालाई स्थानीय सञ्चार माध्यमबाटै प्रकाशन तथा प्रसारणको ब्यवस्था मिलाउने तयारी गरिरहेको त्यस अवसरमा जानकारी गराइएको थियो ।