arrow

पोखरा विश्वविद्यालयको नयाँ शैक्षिक भवन बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
pokhara-university-mou.jpg

पोखरा । पोखरास्थित पोखरा विश्वविद्यालयमा अत्याधुनिक र सुविधा सम्पन्न नयाँ शैक्षिक भवन बन्ने भएको छ । विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै आन्तरिक स्रोत परिचालन गरी ४१ करोड ४३ लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न लागिएको हो । भवन निर्माण साउन १५ देखि निर्माण सुरू भई ३० महिनाभित्र सम्पन्न गरिसक्ने गरी सम्झौतासमेत भइसकेको छ ।

श्रेष्ठ एण्ड सन्स, चो रोल्पा जेभी काठमाडौँले भवन निर्माणको जिम्मेवारी र आयोजनाको सुपरभिजन परामर्शदाताको रूपमा पेस कन्सल्टेन्ट काठमाडौँ रहेको छ ।

उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको उपस्थितिमा रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष श्रेष्ठ एवं सुपरभिजन परामर्शदातातर्फबाट प्रबन्ध निर्देशक ई. बिष्णुप्रसाद खनालले निर्माण सम्झौतामा हस्ताक्षर गरे ।

भुँइतलादेखि ७ तला भएको उक्त भवनमा ४८ जना विद्यार्थी क्षमताका १४ वटा कोठा र ३० विद्यार्थी क्षमताका १२ वटा कोठा गरी २६ वटा कक्षा कोठा हुनेछन् । भवनमा १२ वटा प्रशासनिक कोठा, २४ वटा शिक्षक बस्ने कोठा, चार वटा विभागीय प्रमुखका कोठा रहनेछन् ।

कुल ६६ वटा कोठा डिजाइन गरिएको नयाँ भवनमा छात्रा/महिलाका २३, छात्र/पुरूषका लागि १८ वटा बाथरूम/ट्वाइलेट, २४ वटा यूरिनल्स र प्रत्येक तलामा स्टाफका लागि एक-एक वटा बाथरूम/ट्वाइलेट निर्माण गरिनेछ । भवनमा एक-एक वटा प्राथमिक उपचार कक्ष, चौकीदार कक्ष, प्यान्ट्री कक्ष, बिजुली कोठा र चार वटा भण्डार कोठा रहनेछन् ।

यस्तै, भवनलाई दुई वटा भर्‍याङ र एउटा लिफ्टसहित तीन सय जना क्षमताको एउटा अडिटोरियम हल र ४० जना क्षमताको एउटा मिनी हलले सुविधायुक्त तुल्याइनेछ ।

भुँइतलमा १९ कार, ५० मोटरसाइकल तथा भवन परिसरमा ७० मोटरसाइकल अट्न सक्ने गरी व्यवस्थित गरिनेछ । सम्झौताबमोजिम भवनलाई निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्दा, कार्पेट एवं फर्निचरले राम्रोसँग सु-सज्जित गरी हस्तान्तरण गर्नुपर्नेछ ।

विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको हाताभित्र बन्ने नयाँ शैक्षिक भवनमा अतिरिक्त स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज भवनका लागि ट्रस संरचना, स्कुल अफ विजनेस भवनका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मतसमेत हुनेछ ।

प्राज्ञिक भवन कम्प्लेक्सभित्र रहेको स्कुल अफ इन्जिनियरिङको पश्चिमपट्टी र स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङको दक्षिणपट्टि बास्केटबल कोर्ट भएको स्थानसमेत प्रयोग गरी नयाँ भवन निर्माण गरिने रजिष्ट्रार भण्डारीले जानकारी दिए ।

विश्वविद्यालयमा नयाँ-नयाँ कार्यक्रम थपिनेक्रममा रहेका र पठनपाठनका लागि यथेष्ट कक्षा कोठा आवश्यक हुँदै गएकोले नयाँ भवन निर्माण गर्न लागिएको उनले बताए ।

विश्वविद्यालयमा निर्माण हुन लागेको यो भवनले विश्वविद्यालयको शैक्षिक पूर्वाधारमा ठूलो फड्को मार्ने र पोखरा-२६, विजयपुरमा मासिक लाखौं खर्च गरी भाडामा सञ्चालन हुँदै आएको स्कुल अफ इन्जिनियरिङको ब्लक ‘बि’ र पोखरा-३०, गगनगौंडामा मासिक हजारौँ खर्च गरी सञ्चालित फिजियोथेरापी कार्यक्रमलाई नयाँ शैक्षिक भवनमा स्थानान्तरण गर्ने विश्वविद्यालयको लक्ष्य रहेको सूचना अधिकारी लोकप्रसाद ढकालले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ