arrow

पोखरा विश्वविद्यालयद्वारा एक हजार तीन सय सिटमा छात्रवृत्ति आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
pokhara-university-officilasite-pu.jpg
फाइल तस्बिर

पोखरा । पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने एक हजार तीन सय सिटमा आह्वान गरेको छ । विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी स्नातक तहका विभिन्न कार्यक्रमका लागि छात्रवृत्ति खुलाएको हो । यो कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थीले अनलाइनमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

छात्रवृत्तिका लागि यही साउन ९ देखि ३० गते बुधबारसम्म दरखास्त दिन सकिने छ । विज्ञान तथा प्रविधि संकायको समूह ‘क’ का लागि २०८१ भदौ ७ गते बिहान ८ देखि ११ बजेसम्म र समूह ‘ख’ का लागि सोही दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म परीक्षा तोकिएको छ ।

यस्तै व्यवस्थापन संकायतर्फ २०८१ भाद्र ८ गते बिहान ८ देखि ११ बजेसम्म र मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ सोही दिन दिउँसो २ देखि ५ बजेसम्म परीक्षा तोकिएको छ । परीक्षा विश्वविद्यालयको प्राज्ञिक कम्प्लेक्समा हुनेछ ।

पोविले विज्ञान तथा प्रविधि संकायअन्तर्गत बिइ कम्प्युटर, बिइ आर्किटेक्चर, बिइ सिभिल, बिइ सिभिल (रूरल), बिइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बिइ इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन, बिइ सफ्टवेयर, बिइ आइटी र बिइ सिभिल डिप्लोमा होल्डर्स, बिसिए र बिएस्सी इन्भायोरोन्मेन्ट कार्यक्रममा चार सय ९० सिट रहेको उल्लेख गरेको छ ।

यसैगरी व्यवस्थापन संकायअन्तर्गत बिबिए, बिबिए (फाइनान्स), बिसिएस आइटी, बिएचसिएम, बिएचएम र बिबिए टीटी कार्यक्रममा कुल सात सय ७० सिट छ ।

यस्तै मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत बडेभ्स, बेड, बिइसिएस र बिएएलएलबीमा ३९ सिटका लागि दरखास्त आव्हान गरिएको छ ।

विभिन्न महाविद्यालयमा कार्यक्रम र सेक्सन थप गरिएको उल्लेख गर्दै छात्रवृत्ति कोटा अझै बढ्ने देखिएको सूचना अधिकारी लोकनाथ ढकालले जानकारी दिए ।

उनका अनुसार विश्वविद्यालयले आंगिक महाविद्यालयमा कुल विद्यार्थी भर्ना कोटाको २० प्रतिशत र सम्बन्धन प्राप्त महाविद्यालयमा १० प्रतिशतका दरले छात्रवृत्ति उपलब्ध गराउँदै छ ।

विश्वविद्यालयले स्थानीय छात्रवृत्ति र पोखरा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका सन्तति छात्रवृत्तिको कोटाबाहेक ६० प्रतिशत खुला र ४० प्रतिशत अपांग, सहिद तथा जनआन्दोलनका घाइते पीडित, दुर्गम, दलित, जनजाति र मधेसी समुदायलाई कोटा सुरक्षित गरेको छ । जसमध्ये खुला र आरक्षित दुवै प्रकारका छात्रवृत्ति कोटामा महिलाका लागि ५०/५० प्रतिशत छात्रवृत्ति कोटा सुरक्षित हुन् सूचना अधिकारी ढकालले जानकारी दिए ।

उनले भने, ‘छात्रवृत्ति कोटामा सार्वजनिक विद्यालयमा कम्तीमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरी एसईई वा एसएलसी उत्तीर्ण गरेका र छात्रवृत्ति छनोट प्रवेश परीक्षामा समेत सफल उम्मेदवारलाई तेस्रो चरणको छात्रवृत्ति वितरण गरिसकेपछि पनि कोटा रिक्त रहन गएमा सार्वजनिक विद्यालय र संस्थागत विद्यालयमा अध्ययन गरी एसईई वा एसएलसी उत्तीर्ण गरेका उम्मेदवारलाई समेत योग्यताक्रमका आधारमा छात्रवृत्ति उपलब्ध गराइने छ ।’



नयाँ