- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् । सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिष्ट पार्टीका नेताहरूले गरेको उनको जिकिर थियो । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिष्टहरु राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए ।
कम्युनिष्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरूमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाई थियो । अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिष्ट पार्टीहरूले भने मुलुकमा दुःख पाउनुपरेको बताए ।
उनले भने,‘अहिलेको कम्युनिष्ट साथीहरू नरिसाउनु होला । अहिलेका कम्युनिष्ट पार्टीका नेताहरूको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ । र त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन । त्यो युग अहिले आएको छ । कुनै पनि काम बाँकी नछोड्ने । राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । के का लागि ? सरकारका लागि । त्यो पनि दुई दिनको सरकारका लागि । राजवादी पनि चलेकै छ, कांग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जोसँग पनि चलेकै छ । के को लागि भन्दा खेरी त्यहाँ वैचारिक अन्यौलता, आदर्श र चिन्तन हराएपछि केवल अवसरवाद मात्रै बाँकी रहँदो रहेछ । र त्यो चाहिँ सबैमा होइन । त्यसले चरम अवस्थामा रहेका छरिएर रहेका नेपालका कम्युनिष्टहरुमा को सही हो, को गलत हो ? छुट्टयाउनै गाह्रो छ । तर जो सही बाटोमा हुनुहुन्छ, उहाँहरूले दुःख पाइराख्नु भएको छ । ती सुविधा, अवसरबाट वञ्चित भएर दुःख पाइराख्नुभएको छ । अव त्यो अवस्था देखिएको छ ।’
अध्यक्ष यादवले कम्युनिष्ट पार्टीहरूमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रूपमा देखिएको दाबी समेत गरे ।