arrow

आफूले नछाड्ने अरुलाई त्याग गर्न सिकाउने सूत्र फेल हुँदा एसलाई पदाधिकारी टुंग्याउन सकस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
ncp-united-ga-81-3-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) लाई पदाधिकारी टुंगो लगाउन सकस परेको छ । पदाधिकारीका आकांक्षी धेरै भएपछि अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनाललाई सकस परेको हो । 

खनाल भने छनोट प्रकृयामा सहभागी छैनन् । तर पनि खनालसँग पदाधिकारी माग्न जानेको संख्या भने कम छैन ।

वरिष्ठ उपाध्यक्षमा डा. बेदुराम भुषाल, राजेन्द्र पाण्डेले नछाडेपछि नेपाल संकटमा परेका छन् । 

त्यसैगरी उपाध्यक्षका आंकाक्षीहरु पनि धेरै रहेका छन् । असार २१ गते ९३ सदस्यीय केन्द्रीय समिति बनाएको सो पार्टीले २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएर केन्द्रीय पदाधिकारी चयन गर्ने अवस्थामा पदाधिकारीको आंकाक्षीको पार्टी कार्यालयमा लर्को लागेको छ । 

त्यसका लागि सो पार्टीले २९९ सदस्य चयन गरेर बाँकी पदाधिकारी मतदानमार्फत चयन गर्ने भनेपछि आकांक्षीहरुको लाइन लागेको एस पार्टीका एक नेताले बताए । अहिले वरिष्ठ उपाध्यक्ष मात्र होइन ७ सचिवका लागि ३५ को दाबेदारी  छ । 

उपाध्यक्ष र उपमहासचिवमा यस्तै दावेदारी रहेको छ । उपाध्यक्षमा १० जना भन्दा बढी आकांक्षी रहेका छन् । उपमहासचिवमा पाँच जना बढी आकांक्षी रहेका छन् ।  ‘नेतृत्वलाई सम्हाल्न निकै हम्मे परेको छ’, ती नेताको दाबी छ ।

केन्द्रीय कमिटी बैठक सोमबार बस्ने भनिए पनि बुधबारलाई सरेको  छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १ः०० बजे बस्ने भनिएको थियो तर पदाधिकारीमा कुरा नमिल्दा सारिएको हो ।

बुधबार बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने भएको छ । पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । 

हालै भएको महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाललाई दोहोर्याएको थियो ने ९३ सदस्यीय केन्द्रीय कमिटी छानेको थियो । 

केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले टुंग्याउन सकस परेको छ । सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुनेछ ।

एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी १८ जना पदाधिकारी छान्न बाँकी छ । केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १४ गतेको बैठक साउन  १६ गते बुधबारका लागि सारिएको हो ।   

तयारी अपुग भएपछि बैठक दुई दिन पर सारिएको खतिवडाले बताए ।  सो पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ । 

तर भागबण्डामा कुरा नमिल्दा बैठक सरेको छ । खतिवडाका अनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ । 

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने तयारी छ । पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । 

सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ । 

केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले टुंग्याउन सकस परेको छ ।

‘सानो पार्टी, नेता धेरै कार्यकर्ता थोरै रहेका छन् तर पनि पार्टी बनाउनेभन्दा नेता बनाउनेतर्फ पार्टीका नेताहरुको लाग्नु भएको छ’, एसका एक नेताले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ