arrow

अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
European_honey_bee_extracts_nectar.jpg.jpeg

जुम्ला । यहाँका किसानले पालेका मौरी अज्ञात रोगले मर्न थालेपछि मौरीपालक किसान चिन्तित भएका छन् । पहिचान नभएको रोगले मौरी मर्न थालेपछि जुम्ली किसानले मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ बोलाउने भएका छन् ।

मौरी किसान र सरोकारवालाबीच बिहीबार भएको छलफलमा मौरी विशेषज्ञ बोलाएर मौरीमा देखिएको रोग पत्ता लगाउने र रोग निवारणको उपाय खोज्ने निर्णय भएको कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष धनजीत बुढाले जानकारी दिए ।

जिल्लाभर मौरीका घारको यकिन तथ्याङक सङ्कलन गर्ने र बर्सेनि उत्पादन हुने मह र जुम्ली महको बजारको पहिचान गर्ने विषयमा जिल्लाका सरोकारवालासँग गहन छलफल भएको छ ।

जिल्ला मौरीलाई आवश्यक चरन क्षेत्रका लागि जडीबुटी मासिनु, जङ्गल आगलागी हुनु, विभिन्न अज्ञात रोगले मौरी गोला मासिनुले निकै चुनौती रहेको सहकारी संस्थाका उपाध्यक्ष बुढाले बताए ।

चरिचरन क्षेत्र घट्दै जानु, जङ्गलमा डढेलो फैलिनु, रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु र समयानुकूल घारमा सुधार नहुनुले समस्या देखिएको सहकारीका सचिव नारायण चौलागाईंको भनाइ छ । यहाँका आठवटै स्थानीय तहमा रहेका करिब आठ हजार मौरी घारबाट उत्पादित महको बिक्रीबाट वर्षमा रु २४ करोड बराबरको आम्दानी हुने गरेको कर्णाली मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईंले जानकारी दिए ।

हाल यहाँ उत्पादित मह प्रतिमानाको रु एक हजार पाँच सयदेखि दुई हजारसम्म बिक्री हुने गरेको सहकारी संस्थाका अध्यक्ष दीपबहादुर मल्लले जानकारी दिए ।

तर उचित चरण क्षेत्र अभावले समस्या बढ्दै गएको कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत लछिराम महतको भनाइ छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौरीपालन व्यवसायमा देखिएको समस्या समधान गर्न मौरी अनुसन्धान केन्द्र गोदावारीबाट विज्ञ ल्याउन पहल गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ