arrow

एनआईसी एसिया बैंकको नाफा एक अर्ब ३८ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
nic-asia-logo-2081-red.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०८०–८१ मा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यो अवधिमा सो बराबर खुद नाफा देखिएको हो । 

अघिल्लो वर्ष बैंकको खुद नाफा ४ अर्ब ४४ करोड रहेको थियो । बैंकले कमाएको उक्त नाफा हाल रहेको १४ अर्ब ९१ करोड चुक्ता पूँजीको आधारमा यो नाफा प्रतिशेयर ९.२५ रुपैयाँ बराबर हो । 

यो वर्ष बैंकको नाफा घट्नुमा आम्दानीमा गिरावट र इम्पेरिमेन्ट चार्ज बढ्नु मुख्य कारणको रुपमा रहेको देखिएको छ । अघिल्लो वर्ष १२ अर्ब २५ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष १० अर्ब ६१ करोड बराबर खुद आम्दानी गरेको छ । त्यस्तै शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्ष २ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा यो वर्ष २ अर्ब ३१ करोडमा झरेको छ । 

आम्दानीसँगै बैंकले यो वर्ष कर्मचारी खर्चमा समेत मितव्ययिता कायम गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ९६ करोड रहेको कर्मचारी खर्च यो वर्ष ४ अर्ब ४३ करोडमा झारेको छ । सञ्चालन खर्च भने यो वर्ष सामान्य बढेको छ । 

अघिल्लो वर्ष २ अर्ब २ करोड रहेको सञ्चालन खर्च बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको हो । इम्पेरिन्ट चार्जबापत अघिल्लो वर्ष यो शीर्षकमा ७२ करोड मात्रै छुट्याएकोमा यो वर्ष २ अर्ब ८४ करोड रुपैयाँ छुट्याउनु परेको छ ।

बैंकको वितरणयोग्य नाफा भने यो अवधिमा १ अर्ब ८६ करोड रुपैयाँले नकारात्मक छ । अघिल्लो वर्षको समेत जोड्दा यो २ अर्ब ३० करोड रुपैयाँ बराबर नकारात्मक देखिन्छ । 

वर्षको अन्त्यमा बैंकको निष्क्रिय कर्जा अनुपात ३.४१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ०.८८ प्रतिशत थियो । त्यस्तै, पूँजीकोष अनुपात ११.१८ प्रतिशत, कस्ट अफ फण्ड ६.९६ प्रतिशत, बेसरेट ९.१९ प्रतिशत र ब्याजको स्प्रेडदर ३.९९ प्रतिशत रहेको छ । 

बैंकले यो अवधिमा ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७२ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष निक्षेप र कर्जाको रकम क्रमशः ३ खर्ब ११ अर्ब र २ खर्ब ६१ अर्ब रुपैयाँ थियो । कर्जा विस्तारमा बजार सुस्त हुँदा यो बैंकको कर्जा विस्तार झण्डै ११ अर्बले बढेको देखिन्छ ।  

अहिले बैंकको रिजर्भ कोषमा १७ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यो रिजर्भ चुक्ता पूँजी तथा रिटेन्ड अर्निङ समेतको आधारमा बैंकको प्रतिशेयर नेटवर्थ २०२.२४ रुपैयाँ हुन आउँछ । नकारात्मक सञ्चित नाफाको बाबजुद बैंकको यो नेटवर्थ हुनु बैंकको सकारात्मक पक्ष हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ