arrow

हिदीमा ‘एक घर, एक धारा’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
ghar-dhara.jpg

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनामार्फत ६४ घरमा एक–एक र स्थानीय सिद्ध शान्ति माविमा दुईवटा धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले बताए । 

“सबै घरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ”, उनले भने, “खानेपानीका लागि सार्वजनिक धारा, कुवा, पँधेरामा धाउँदा हुने समयको बचतका साथै सहज भएको छ ।”

हिदी मङ्गला गाउँपालिकाको विकट र दुर्गम क्षेत्रमा पर्ने बस्ती हो । त्यहाँका बासिन्दाले यसअघि सार्वजनिक धारा, कुवा र मुहानबाट व्यक्तिगत लगानीमा पाइपमार्फत घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए । व्यवस्थित रूपमा वितरणपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ । 

पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकतानुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् । आयोजनाको दिगो सञ्चालनका लागि महसुुल निर्धारण र हेरालुको व्यवस्था गर्ने उपभोक्ता समितिका अध्यक्ष पुनले बताए । 

छहरा टाउको, चुच्चे ओखर र लामो छहरामा रहेका तीनवटा मुहानको पानीलाई तीनवटा ट्याङ्कीमा सङ्कलन गरी आठ हजार दुई सय मिटर पाइप लाइनमार्फत वितरणको व्यवस्था मिलाइएको छ । आयोजना निमाणका लागि नेवा संस्थाले रु २२ लाख २० हजार नौ सय ४३ र मङ्गला गाउँपालिकाले रु १० लाख ६४ हजार दुई सय ६३ सहयोग गरेका नेवाका प्राविधिक गोर्खबहादुर शाहीले बताए । 

रु १२ लाख छ हजार पाँच सय ३७ बराबरको श्रमदान गरेका उपभोक्ताले रु एक लाख ९२ हजार पाँच सय आठ नगद पनि लगानी गरेका छन् । नेवा, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा आर्थिक वर्ष २०८०÷८१ मा हिदीसहित मङ्गलाको र्यालेखोर–खुम्लिया–भाइवाङ र खानीगाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएको छ । 

खुम्लिया, र्यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठवटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । र्यालेखोरको आयोजना लिफ्ट प्रविधिको हो । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ