arrow

शीत भण्डार निर्माणपछि बेनीका किसानलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
cold-store.jpg
फाइल तस्बिर

म्याग्दी । फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् ।

बेनी नगरपालिका-४, सिङ्गा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीत भण्डार) सञ्चालनमा आएपछि किसानलाई सुविधा भएको हो । कोल्डस्टोरमा सुन्तलाको सफल परीक्षणपछि अहिले किसानले आलु भण्डारण गरेका छन् ।

गत वर्ष सुन्तला फल्ने याममा करिब एक हजार पाँच सय केजी सुन्तला भण्डारण गरेका किसानले परीक्षणबाट सन्तुष्ट भएका थिए ।

यसपटक आलुको सिजनमा सस्तो मूल्यमा बजारमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने गरी धमाधम भण्डारण गर्न थालेको बेनी नगरपालिका-४ का वडाअध्यक्ष अणबहादुर खड्काले बताए ।

“कोल्डस्टोर बनेपछि किसानमा खुसी छाएको छ, उहाँहरुले आफूले उत्पादन गरेका कृषि उपजलाई शीत भण्डारमा भण्डारण गरी उचित समयमा बजार पुर्‍याउन पाउनुभएको छ,” अध्यक्ष खड्काले भने ।

कोल्ड स्टोरमा राखेपछि निकाल्ने समयमा प्रतिकेजी १० शुल्क तिर्नुपर्छ । हाल कोल्डस्टोरमा सात हजार पाँच सय ५० केजी आलु भण्डारण गरिएको छ र थप तीन सय केजी आलु ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

कोल्डस्टोरमा विद्युत् आपूर्तिसहित अन्य संरचनाहरू आधुनिक भएकाले परीक्षण सफल भएसँगै यसपटक म्याग्दीमा आलु उत्पादन गर्ने कृषि सहकारी, किसानका साथै छिमेकी जिल्ला बागलुङबाट समेत भण्डारणका लागि माग गरिएको छ ।

कोल्डस्टोर एक करोड ६० लाखमा निर्माण गरिएको हो । त्यसमा अन्य आवश्यक संरचनाहरु थपिने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

“कृषकलाई कोल्डस्टोर बरदान साबित हुन्छ, कृषकलाई प्रतिफल हुने गरी नगदे बालीलाई प्राथमिकता दिएका छौँ,” प्रमुख केसीले भने ।

जिल्लामा सुन्तला र आलु अत्यधिक उत्पादन हुने भएकाले यामबाहेक बेमौसममा बिक्री वितरणका लागि सहज हुने स्थानीय बताउँछन् । कोल्ड स्टोरमा मौसमअनुसार आलु, तथा किवीका साथै अन्य नगदे बाली भण्डारण गर्न सकिन्छ ।

बेनी नगरपालिकाले कोल्ड स्टोरलाई वर्षैभरि प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाई राख्ने उपकरण र संरचनासहित बनाएको छ । किसानले व्यापारीलाई बारीबाटै सस्तो मूल्यमा तरकारी, फलफूल बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बेनी नगरपालिकाले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ