arrow

अब सरकारले हावामा मात्रै कर लगाउन बाँकी छ - सांसद शर्मा

खानेपानी जस्तो संवेदनशील विषयमा करमाथि कर थुपार्ने कुरा यो जायज छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
sunil-sharma-04-22.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले सरकारले नागरिकले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी रहेको बताएका छन् । मंगलबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले आफूले विभिन्न विषयमा नजिकबाट नियालिरहेको भन्दै सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रूपमा पाउने पहिलो अधिकार भए पनि पानीमा पनि करमाथि कर बढाएको जिकिर गरे । 

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले यस्तो धारणा राखे । व्यावसायिक प्रयोजनका लागि जमिन मुनिको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्नका लागि प्रस्तावित व्यवस्थामा छलफल भइरहेको विषयमा कांग्रेस सांसद शर्माको उक्त धारणा आएको हो । सांसद शर्माले हरेक क्षेत्रमा दोहोरो–तेहेरो कर लगाउँदा व्यावसायिक वातावरण बिग्रिरहेको बताए । उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानुन रहेको कुरा स्मरण गराए । 

उनले भने, ‘ कुनै पनि इण्डस्ट्री यो देशमा स्टाब्लिस भइरहँदा उसले उत्पादन गरेको वस्तु मार्केटमा बेचिसकेपछि नेट हुने पर्फिटबाट ३० प्रतिशत राज्यले कर लिएको हुन्छ । यो कुरा बिर्सिनु हुँदैन । सय रुपैयाँ नाफा भयो भने ३० रुपैयाँ बुझाएको हुन्छ । एउटा लगानी कर्ताले लगानी गरिरहेको हुन्छ, अनि नेपाल भन्ने देशको आफ्नै किनेको जमिनमा इण्डस्ट्री स्टाब्लिस गरिरहँदा सय रुपैयाँ नाफा कमाउँदा थोरैमा ३० र ३५ सम्म राज्यलाई कर बुझाएको हुन्छ भन्ने कुरा हाम्रो दिमागमा पहिला कानून बनाउँदा राख्दा बुझ्न सजिलो हुन्छ । मान्छे जसरी निःशुल्क रूपमा जन्मिन पाउनु उसको नैसर्गिक अधिकार हो, खानेपानी र स्वच्छ हावा निःशुल्क रूपमा पाउने पहिलो अधिकार हो । तर विभिन्न प्रोजेक्टहरू बन्छन्, खानेपानीका पनि प्रोजेक्टहरू बन्छन्, त्यसको मेन्टन कस्टको कुरा आउँछ । खानेपानी मेलम्चीबाट ल्याएकोमा पैसा लिन्छौँ त्यो त, जायज होला । तर जमिन मुनीको पानी नागरिकले पिउने कुरा हो । काठमाडौँमा सय मिटर तल पानी आउँछ, कहाँ आउँछ देखाउनुस् त । हावामा मात्रै कर लगाउने कुरा बाँकी छ अब नेपालको सरकारको । यो कानून आउन बाँकी छ, म हेर्दै छु । खानेपानी जस्तो संवेदनशील विषयमा करमाथि कर थुपार्ने कुरा यो जायज छैन । यसरी हचुवाका भरमा पास गर्ने गरी नजाऔँ । ब्याक गर्नुस् । दफावार छलफल गरौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ