- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । म्याग्दीमा उद्योग व्यवसाय खारेजीको दर बढेको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१दशमलव१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।
आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् ।
कार्यालयका अनुसार २०८०/८१ मा ३१ उद्योग र ५३ व्यवसायिक फर्म खारेज भएका हुन् ।
आव २०७९/८० मा १४ उद्योग र २९ व्यवसायिक फर्म खारेज भएका थिए ।
सो अवधिमा एक सय एक उद्योग र एक सय १० व्यवसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषनाथ शर्माले बताए ।
आव २०७७/७८ मा सात सय ६२, २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यवसायिक फर्म दर्ता भएका थिए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारीपछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायी विदेश पलायन हुने र अन्य पेसा रोज्नेक्रम बढेको बताए ।
“व्यवसाय दर्ता तथा खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिड पछिको आर्थिक मन्दीको असरका रुपमा लिएका छौँ ,” उनले भने, “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पुरा गर्न दर्ता भएका उद्योग र ब्यवसाय उद्देश्य पुरा भएपछि कर तिरिरहनु भन्दा खारेज गर्ने पनि छन् ।”
जिल्लामा फेन्सी, हार्डवयर्स र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटर नै बन्द नभएका अध्यक्ष श्रेष्ठको दावी छ ।
उद्योग वाणिज्य संघको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यवसायिक फर्म पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका छन् ।
उद्योग तथा व्यवसाय दर्ता र नविकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ ।
आव २०७९/८० मा रु १९ करोड ४७ हजार राजस्व संकलन गरेको कार्यालयले आव २०८०/८१ मा रु. १७ लाख ३८ हजार पाँच सय राजस्व संकलन गरेको छ ।
गत वर्ष तीन सय २२ उद्योग र तीन सय ९४ व्यवसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगमा तीन सय ६ जनालाई रोजगारी सिर्जना भएको छ ।
जिल्लामा हाल दुई हजार आठ सय ८९ उद्योग र दुई हजार पाँच सय ४३ व्यवसाय कायम छन् ।