arrow

तातोपानी कुण्डमा ‘सन्ध्याकालीन आरती’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
tatopani-kunda.jpg

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं. ४ स्थित सिंगा तातोपानी प्राकृतिक चिकित्सालयको रुपमा लिइने तातोपानी कुण्डमा ‘सन्ध्याकालीन आरती’ शुरु भएको छ । भगवान् महादेवको महिनाको रुपमा लिइने साउनको पहिलो सोमबारदेखि आरती थालनी गरिएको हो ।

तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी अब प्रत्येक हप्ताको सोमबार सन्ध्याकालीन आरती हुने तातोपानी कुण्ड व्यवस्थापन समिति अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।

तातोपानी कुण्ड क्षेत्र धार्मिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ । प्राकृतिक उपचारका लागि आउने बिरामीको उपचारसँगै आरतीले तातोपानीको महत्वलाई थप उजागर गर्ने र धार्मिक आस्था पनि बढ्ने विश्वास छ ।

तातोपानी कुण्डमा हुने आरतीमा श्रवण तथा महाद्वीपसहित धार्मिक कार्यमा हरेक धार्मिक आस्था राख्ने व्यक्तिको प्रत्यक्ष सहभागिता हुने गरेको समिति सचिव कुमार केसीले बताए ।

अबका प्रत्येक सोमबार साँझ आरतीसँगै भजनमा सहभागि हुन पाइने भएको छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष वीरेन्द्रमान शाक्यका अनुसार भगवान शिवको पूजा आरधना गर्दै एक सय आठ दीप प्रज्ज्वलन, महाआरतीसहितको विशेष पूजा गर्ने सुविधाले स्नान गर्न आउने बिरामीलाई मानसिक शान्ति मिल्ने र त्यसले रोगसमेत निको हुन थप मद्धत पुग्ने विश्वास छ ।

आरतीका लागि तीन जना कन्यासहित छ जनालाई प्रशिक्षणसमेत दिइएको छ । हिन्दू धर्ममा आरती पूजाअर्चनाको एउटा विधि हो ।

बलिरहेका आरतीका थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ । ‘सन्ध्याकालीन आरती’ले आन्तरिक पर्यटक समेत बढ्ने अनुमान गरिएको छ ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ४५ डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार गर्न र अवलोकनका लागि बर्षेनी २० हजार बढी मानिस आउने गरेका छन् ।

पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायतको समस्या निको हुने विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ