arrow

पल्सर स्पोर्टस अवार्ड भदौ २८ गते 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
nsjf-81-4-30.jpg

काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० आगामी भदौ २८ गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको अवार्डको २१औं संस्करण आयोजनाका लागि बुधबार मञ्च र मुख्य प्रायोजक गोल्छा गु्रपबीच सम्झौता भएको छ । 

सम्झौतामा गोल्छा गु्रपको तर्फबाट निर्देशक अभिमन्यू गोल्छा र मञ्चको तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार गोल्छा गु्रपले यसपल्ट गोल्छाले बजारमा ल्याउन लागेको नयाँ एनएस ४०० सिरिज पल्सर बाइक एक जना विजेतालाई तथा अन्य चार विजेतालाई एनएस २०० बाइक प्रदान गर्नेछ । 

त्यस्तै मञ्चलाइ १२ लाख नगद रुपैया प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।
 
निर्देशक गोल्छाले त्यस अवसरमा भने, ‘पल्सर बाइक र खेलाडीको गति, क्षमता र भावना मेल खान्छ । हामीले खेलाडीलाई दिने सम्मानले खेलक्षेत्रमा टेवा पुगेको हामीलाई विश्वास छ ।’ 
नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा गु्रपबीच अवार्डकै लागि सहकार्य भएको यो १६ औं वर्ष हो ।  

यो वर्ष स्पोर्टस अवार्ड सँगै मञ्चले एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कंग्रेस पनि एकैसाथ आयोजना गर्न लागेको बुधबार सम्झौता कार्यक्रममा जनाइएको थियो । 

खेलकुद पत्रकार मञ्च एआईपीएस एसियाको सदस्य राष्ट्र हो । उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहनेछ ।

मञ्चका अध्यक्ष सुवेदीले भने, ‘यसपल्ट अवार्डको विशेषता के हो भने एसियाभरका पत्रकारले नेपालको यो प्रतिष्ठित अवार्ड कार्यक्रम प्रत्यक्ष हेर्ने छन् ।’

यस वर्ष अवार्डमा १० विधा समावेश गरिएको छ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधा रहेको छ ।

यसमध्ये वर्षका पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले बाइक प्राप्त गर्नेछ भने ४ विधाहरु टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट, स्पेसल र पारा एथलिट अवार्डका विजेताले १ लाख रुपैयाँ प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो । 

यसअघि यी विधाका विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने गरिएकोमा यस पटकदेखि १ लाख बनाइएको मञ्चका महासचिव प्रज्वल ओलीले बताए । 

कार्यक्रममा एनएनआईपीएका मानार्थ अध्यक्ष दीपक विष्टले मञ्चले निरन्तर रुपमा आयोजना गर्दै आएको अवार्ड कार्यक्रमले नेपाली खेलाडीका लागि ठूलो हौसलाको विषय बन्दै आएको बताए । 

उनले भने, ‘हामी खेलाडीको लागि यो नै सबैभन्दा ठूलो सम्मान र हौसलाको कार्यक्रम हो। यसका लागि हामी मञ्च र प्रायोजन गर्ने गोल्छा गु्रपप्रति आभार ब्यक्त गर्न चाहन्छौँ ।’ 

पल्सर स्पोर्टस अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । 

साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।  

गत वर्ष पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथलेटिक्सकी राजपुरा पछाईं, युवामा क्रिकेटका देवकुमार खनाल र प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले जितेकी थिइन् । 

स्पेसल अवार्ड फोटोपत्रकार सुदर्शन रञ्जितलाई प्रदान गरिएको हो । पारा एथलिट सम्मान एथलेटिक्स पारा खेलाडी मैंया विशुंखे, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड चिनियाँका खेलपत्रकार चेउ चान फाइ र लाइफटाइम एचिभमेन्ट अवार्ड भारोत्तोलनका ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई प्रदान गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ